सौराहाबाट प्रदेशस्तरीय घुमफिर वर्षको घोषणा

Bhugolpark

१३ बैशाख, २०८१,०९:०२

सौराहाबाट प्रदेशस्तरीय घुमफिर वर्षको घोषणा : बागमती प्रदेश

बागमती प्रदेश सरकारले चितवनको पर्यटकीय नगरी सौराहाबाट प्रदेशस्तरीय घुमफिर वर्ष–२०७९/८० को घोषणा गरेको छ । कोरोनाले थलिएको पर्यटनलाई उकास्न प्रदेश सरकारले घुमफिर वर्ष घोषणा गरेको हो । संस्कृति तथा पर्यटन मन्त्रालयले मंगलबार सौराहामा औपचारिक कार्यक्रमको आयोजना गरी घुमफिर वर्षको उद्घाटन तथा घोषणा गरिएको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले घुमफिर वर्षको औपचारिक घोषणा तथा उद्घाटन गरेका हुन् । विदेशी पर्यटकलाई सौराहामा स्वागत गरी घुमफिर वर्षको उद्घाटन गरिएको हो । बेलायतबाट नेपाल घुम्न आएका ६ जना विदेशी पर्यटकलाई घोषणा सभामा स्वागत गरिएको थियो ।

प्रदेशभित्र रहेका पर्यटकीय गन्तव्यको विकास गर्ने र स्थापित गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटक भित्राउने योजनाका साथ प्रदेश सरकारले घुमफिर वर्ष मनाउन लागेको हो । नेपाल भ्रमण वर्ष असफल भएपछि प्रदेश सरकारले घुमफिर वर्ष सुरू गरेको हो ।

घोषणा सभामा संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल र प्रदेश मन्त्रालयका सचिव, चितवनका पालिकाका मेयर तथा पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।

घुमफिर वर्ष अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्ने, पुराना पर्यटकीय गन्तव्यमा सेवा थप तथा गुणस्तरीय बनाउने र अहिलेसम्म पर्यटन नपुगेका नयाँ पर्यटकीय गन्तव्यमा पर्यटक पुर्याउने योजनाका साथ घुमफिर वर्ष घोषणा गरिएको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव मदन कोइरालाले बताए ।

उनले कोरोना महामारी अन्त्य भएपछि विदेशी पर्यटकको आगमन कम भएकाले घुमफिर वर्षको उद्घाटनमा नेपाल आएका विदेशी पर्यटकलाई स्वागत गरिएको बताए । नेपालका पर्यटन व्यवसायी विदेशी पर्यटकलाई स्वागत गर्न आतुर छन् भन्ने सन्देश प्रवाह गर्न विदेशी पर्यटकलाई स्वागत गरिएको सचिव कोइरालाले बताए ।

घुमफिर वर्षमा प्रदेशको महत्त्वपूर्ण पर्यटकीय तथा धार्मिक सम्पदामा सौराहा, मेघौली, नारायणगढ, मकवानपुरगढी, चित्लाङ, मार्खु, इन्द्रसरोवर, गोसाईंकुण्ड, लामटाङ, शैलुङ, कालिन्चोक, गौरीशङ्कर हिमाल, पाँचपोखरी, शिवालय क्षेत्र, पशुपतिनाथ, गुहेश्वरी, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, रूवीभ्याली, गणेश हिमाल, स्वयम्भू, नुवाकोट दरबार,सिन्धुलीगढी, हरिहरपुरगढी, नगरकोट, पनौती, धुलिखेललगायतका सम्पदाहरुलाई मह¤वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउँदै ती गन्तव्यमा पर्यटक लैजाने योजना रहेको सचिव कोइरालाले बताए ।

प्रदेश भित्र रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुलाई १० वटा हिल स्टेसन र १० वटा नमुना गन्तव्यका रुपमा घोषणा गरी योजनाबद्ध पूर्वाधारको विकास र पर्यटन प्रवद्र्धन गरिने उनले बताए । पर्यटन उद्योग र व्यवसायको दिगो तथा दरिलो विकासमार्फत राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तुल्याउन स्थानीय तह र निजी क्षेत्रसमेतको सहयोग र साझेदारीमा पर्यटकीय गन्तव्यहरुको संरक्षण, सम्बर्धन र नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास एवं विस्तार गरिने सचिव कोइरालाको भनाइ छ ।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले कोरोनाले थलिएको सौराहाको पर्यटन अझै उठ्न नसकेको बताए । ‘व्यवसायीले अपेक्षा गरेअनुसार अहिले पनि पर्यटक आएका छैनन्’, उनले भने, ‘होटल सञ्चालकलाई खर्च धान्नसमेत मुस्किल छ ।’ उनले पर्यटनलाई पुरानै अवस्थामा फर्काउन सरकारले ब्याजदर कम, पुनर्कर्जाको अवधि दुई वर्ष थप र होटल क्षेत्रलाई उद्योगको मान्यता दिनुपर्ने बताए । ‘ऋण तिर्न सक्ने अवस्था छैन’, उनले भने,‘हामीले तिर्छौं र समय चाहिएको छ ।’

मुख्यमन्त्री पाण्डेले पर्यटनमार्फत प्रदेशको आर्थिक विकास गर्ने योजनाका साथ घुमफिर वर्ष घोषणा गरिएको बताए । ‘कोरोनाले शिथिल बनेको प्रदेशको पर्यटनलाई पुनर्जीवन दिन घुमफिर वर्ष घोषणा गरेका हौ’, उनले भने,‘यो प्रदेश सरकारको गौरवको योजना हो ।’

रत्ननगरका मेयर प्रल्हाद सापकोटाले घुमफिर वर्ष चितवनको पर्यटन विकासमा कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । उद्घाटन हुनु पूर्व सौराहामा शोभायात्रा निकालिएको हो ।

साथै सौराहामा २० प्रतिशत छूट

सौराहाका होटल व्यवसायीहरुले घुमफिर वर्षमा २० प्रतिशत छूटको घोषणा गरेका छन् । क्षेत्रीय होटल संघ चितवन सौराहाले घुमफिर वर्षको अवधिभर आवासमा २० प्रतिशत छूट दिने घोषणा गरेको हो । घुमफिर वर्ष घोषणा कार्यक्रममा संघका अध्यक्ष दीपक भट्टराईले पर्यटकका लागि आवासीय सुविधामा २० प्रतिशत छूट दिने घोषणा गरेका हुन् ।

‘घुमफिर वर्ष सौराहाका लागि ठूलो अवसर हो’, उनले भने, ‘यो अवसरमा पर्यटकलाई २० प्रतिशत छूटको घोषणा गरेका छौँ ।’


99 Views

Comments