काठमाडौं, वैशाख २३ – युक्रेनले रुसको राजधानी मस्कोमा लगातार दोस्रो रात ड्रोन आक्रमण गरेको रुसले जनाएको छ। यस आक्रमणका कारण मस्कोस्थित चारवटै विमानस्थल केही घण्टाका लागि बन्द गर्नुपरेको रुसको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। यद्यपि, अहिले ती विमानस्थल पुनः सञ्चालनमा आइसकेका छन्।
बीबीसीका अनुसार, युक्रेनले अहिलेसम्म यो आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएको छैन। आक्रमणबाट हालसम्म कुनै मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ।
मास्कोका मेयर सेर्गेई सोब्यानिनका अनुसार, मस्कोतर्फ उड्दै गरेका कम्तीमा १९ युक्रेनी ड्रोनहरू रुसी सुरक्षा फौजले खसाल्न सफल भएका छन्। साथै, रुसका राज्य नियन्त्रित सञ्चारमाध्यमहरूका अनुसार, देशभरका विभिन्न स्थानमा कुल १०५ युक्रेनी ड्रोन नष्ट गरिएको छ।
पेन्जा र भोरोनेजजस्ता सहरहरूका गभर्नरहरूले पनि आफ्नो सहर आक्रमणको निशानामा परेको बताएका छन्।
युक्रेनको यो आक्रमण रुसले घोषणा गरेको अस्थायी युद्धविराम लागु हुनुभन्दा दुई दिनअघि भएको हो। रुसले मे ८ देखि ११ सम्मका लागि अस्थायी युद्धविराम घोषणा गरेको थियो।
यसैबीच, युक्रेनमा पनि रुसले आक्रमण जारी राखेको बीबीसीले जनाएको छ। ओडेसा सहरमा गरिएको रुसी आक्रमणमा कम्तीमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ भने खार्किभ क्षेत्रमा समेत आक्रमण भएको उल्लेख गरिएको छ।
Comments