१ देखि ९ कित्तासम्मको सेयर किन्न र बेच्न सकस

Bhugolpark

१३ जेष्ठ, २०८२,१२:२२

काठमाडौँ, जेठ १३: हाल बजारमा १ देखि ९ कित्तासम्मको सेयर किन्न र बेच्न सकस छ । लगानीकर्ताको डिम्याट खातामा १ देखि ९ कित्तासम्म सेयर बसेको छ भने थप १० वा त्यसभन्दा बढी सेयर किनेर एकमुष्ठ बेच्नुपर्ने बाध्यता छ । यसले गर्दा लगानीकर्ता दोहोरो, तेहरो ब्रोकर कमिसन, डिम्याट शुल्क तिर्नुपर्ने बाध्यता छ । कुनै कम्पनीले १० प्रतिशत बोनस सेयर दियो, यदि डिम्याट खातामा ४÷५ कित्ता मात्रै सेयर बसेको छ भने त्यस्तो सेयरमा बोनस पाइँदैन, बेच्न पनि पाइँदैन, मूल्य समायोजन हुँदा घट्न जान्छ । वर्षौंदेखि रहेको यो समस्या अब भने छिट्टै हल हुने भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले छिट्टै नै मार्केट डेप्थमा देखिने गरी १ देखि ९ कित्तासम्मको सेयर अर्डर पोस्ट गर्न सकिने व्यवस्था गर्न लागेको हो । प्राविधिक टिमसँग यसबारे छलफल भइरहेको नेप्से प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । ‘अड लट मूल कारोबार होइन, यो कारोबारले कुनै पनि सूचक र त्यो कम्पनीको मूल्यलाई पनि असर पार्दैन,’ पराजुलीले भने, ‘अब यस्तो सेयर पनि मार्केट डेप्थमा देखिने र कारोबारमा सहज गर्ने गरी तयारी गरेका छौं । प्राविधिक टिमले यसको काम सक्ने बित्तिकै लागु गरिने छ ।’


27 Views

Comments