काठमाडौं, जेठ १९, २०८२ — काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सेवा अवरुद्ध भएपछि राइड सेयरिङ एपहरूमा यात्रुहरूको निर्भरता बढेको छ। तर, केही चालकहरूले यात्रुहरूसँग बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू प्रहरीसमक्ष पुगेका छन्।
यसप्रति ध्यान दिँदै, नेपाल प्रहरीले सोमबार एक सूचना जारी गर्दै राइड सेयरिङ एपमार्फत यात्रुहरूसँग बढी भाडा नलिन चालकहरूलाई सचेत गराएको छ। प्रहरीले यस्तो गतिविधि देखिएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ मा जानकारी दिन यात्रुहरूलाई अनुरोध गरेको छ।
प्रहरीको सूचनामा उल्लेख छ, "विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेको हुनाले राइडरहरूले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौँ।"
सार्वजनिक यातायात व्यवसायीहरूले आन्दोलनको रूपमा आफ्ना सवारीसाधन ग्यारेजमा थन्क्याएपछि धेरै यात्रुहरूले राइड सेयरिङ एपहरूलाई विकल्पका रूपमा अपनाएका छन्। तर, केही चालकहरूले यो अवस्थालाई दुरुपयोग गर्दै यात्रुहरूसँग अनावश्यक रूपमा बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेका छन्।
प्रहरीले यस्तो गतिविधि रोक्नका लागि यात्रुहरूलाई सतर्क रहन र कुनै पनि अनियमितता देखिएमा तुरुन्तै जानकारी गराउन आग्रह गरेको छ।
Comments