१० देशको अनुभव, २० वर्षको यात्रा: तेम्बा लामाको 'Chef’s Kitchen' कथा

Bhugolpark

२७ जेष्ठ, २०८२,११:४४

काठमाडौं, २७ जेठ- सपना बोकेर विदेश पुगेका हजारौं नेपालीहरू छन्, तर तीमध्ये केही मात्रले त्यो सपना नेपालमै फर्केर साकार पार्छन्। आज हामी त्यस्ता एक उद्यमीको कथा सुनाउँदैछौं, जसले २० वर्षको अनुभव, १० भन्दा बढी देशमा काम गरेर कमाएको सीप, र आत्मविश्वासलाई नेपालमै लगानी गरेर एउटा स्वादिलो सपना साकार पारेका छन्। उनी हुन् – 'Chef’s Kitchen' का संस्थापक, तेम्बा लामा।

चाबहिलस्थित 'Chef’s Kitchen' नामक रेस्टुरेन्टका तेम्बा लामाले रेस्टुरेन्ट व्यवसायमा आफ्नो जीवनको दुई दशक समर्पण गरेका छन्। उनी केवल व्यवसायी मात्र होइनन्, एक प्रेरक पात्र पनि हुन्। उनले धेरै देशमा सीप सिकेर अन्त्यमा नेपालमा नै फर्किए। उनी भन्छन्, "म नेपाली हुँ, म मेरो देशमा केही गर्न चाहन्थें।"

आज उनी स्वदेश फर्केर आफ्नो 'Chef’s Kitchen' मा ६०० भन्दा बढी परिकार आफ्नै रेसिपी तयार गर्छन्। यो रेस्टुरेन्ट अनलाइन र अफलाइन दुवै माध्यममा सेवा दिन्छ। आधुनिक प्रविधिसँग जोडिएको, तर नेपाली स्वादको आत्मालाई जोगाउँदै बनाइएको यो रेस्टुरेन्ट अहिले स्वादका पारखीहरूको रोजाइ बन्दै गएको छ।

काममा इमान, सेवामा समर्पण

१८ घण्टासम्म काम गर्ने यो युवा उद्यमी दिनरात आफ्नो रेस्टुरेन्टको व्यवस्थापनमा खटिन्छन्। उनले रेस्टुरेन्टमा १५ जनालाई रोजगारी दिएका छन्। यो केवल व्यवसाय होइन, उनले सिर्जना गरेको एउटा परिवार हो। त्यो परिवारमा उनकी श्रीमती पनि छन्, जो हरेक दिन रेष्टुरेन्टमै साथ दिन्छिन्।

उनी भन्छन्: “नेपालमा काम गर्न चाहनेहरू कम छन्। सबैले सजिलो खोज्छन्। जबसम्म हामी मेहनतलाई सम्मान गर्दैनौं, तबसम्म देश अघि बढ्दैन।”

राति ३ बजेसम्म सेवा — सेवाभावको उत्कृष्ट उदाहरण

‘Chef’s Kitchen’ सामान्य रेस्टुरेन्ट जस्तो होइन। यो रेस्टुरेन्ट राति ३ बजेसम्म खुला रहन्छ। किनभने उहाँलाई थाहा छ — प्रहरी, सुरक्षाकर्मी, बारका कर्मचारीजस्ता धेरैले रातिको समयमा खाना पाउन गाह्रो हुन्छ। उनी भन्छन्, “म खाना पकाउन मात्र होइन, खाना खुवाएर मान्छेहरूलाई खुसी बनाउन चाहन्छु।” यो भनाइमा न त व्यावसायिक अहंकार छ, न त प्रचारको इच्छा — केवल सेवा गर्ने भावना छ।

देश फर्केर बनाइएको एउटा प्रेरणादायक पहिचान

विदेशमा अनुभव हासिल गरेपछि देश फर्केर आफ्नै उद्यम सुरु गर्नेहरू अहिले पनि अल्पसंख्यक छन्। तर 'Chef’s Kitchen' को यो यात्रा हामीलाई देखाउँछ — इच्छा, मेहनत र प्रतिबद्धता भए नेपालमै पनि असाधारण सफलता प्राप्त गर्न सकिन्छ।

आज यो कथा एक सफल रेस्टुरेन्ट व्यवसायको मात्र होइन, एउटा व्यक्तिको आत्मसमर्पण, सीप, र देशप्रतिको माया झल्काउने कथा हो।


285 Views

Comments