नाइमामा रितु वैधको नेतृत्वमा अटो उद्योगको आवाज बुलन्द, एक महिनामै सुरु भयो संवादको सिरिज

Bhugolpark

३० जेष्ठ, २०८२,०७:१७

काठमाडौं, जेठ २८ – नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक सङ्घ (नाइमा) गठन भएको एक महिनामै ‘नेपाल मोबिलिटी संवाद’ सुरु गरिएको छ। बुधबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा उक्त संवादको औपचारिक सुरुवात गरिएको हो।

सङ्घकी अध्यक्ष रितु सिंह वैद्यले ‘नेपाल मोबिलिटी संवाद’ एक निरन्तर प्रक्रिया हुने जानकारी दिँदै, यो संवादले निजी क्षेत्र र सरकारबीच सेतुको भूमिका निर्वाह गर्ने बताउनुभयो। “सरकारले निजी क्षेत्रलाई प्रत्यक्ष रूपमा सहजीकरण गर्नुपर्छ,” उहाँले भन्नुभयो, “हामी यस संवादमार्फत जनताको माग, उपभोक्ताको समस्या र व्यवसायीका चुनौतीहरू सरकारसमक्ष पुर्‍याउनेछौं। यसले नीतिगत तहमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न सहयोग पुर्‍याउँछ।”

वैद्यका अनुसार, ‘नेपाल मोबिलिटी संवाद’ सरकारलाई यथार्थमा आधारित नीतिनिर्माणमा सहयोग पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको हो। उहाँले भन्नुभएको छ , “आजबाट हामीले मोबिलिटी संवाद सुरु गरेका छौं। सरकारले अलिकति मात्र सहजीकरण गरे पनि अटोमोबाइल उद्योग थप सुदृढ र व्यवस्थित बन्न सक्छ। यस वर्ष सरकारले विद्युत्‌युत् सवारीसाधन (ईभी) मा कर लगाएको छैन, त्यसका लागि हामी कृतज्ञता प्रकट गर्न चाहन्छौं।”

सङ्घ गठनको पृष्ठभूमिबारे जानकारी दिँदै वैद्यले अटोमोबाइल व्यवसायी तथा उपभोक्तालाई प्रतिनिधित्व गर्ने साझा छाता संस्था आवश्यक रहेको महसुसपछि नाइमा गठन गरिएको बताउनुभयो। गठनको एक महिनामै ५० भन्दा बढी कम्पनी सङ्घमा आबद्ध भइसकेको र थप कम्पनीहरूको सहभागिता निरन्तर भइरहेको जानकारी पनि उहाँले दिनुभयो।


365 Views

Comments