सरकारको टेलिग्राम प्रतिबन्ध सम्बन्धी निर्णयप्रति रूसी दूतावासको असहमति

Bhugolpark

८ श्रावण, २०८२,१३:२०

 ८ साउन, काठमाडौं । सम्पत्ति शुद्धीकरण र अनलाइन ठगीका गतिविधिमा जोडिएको भन्दै सरकारले बन्द गराएको सामाजिक सञ्जाल टेलिग्राममा निरन्तर अपडेट गरिरहने काठमाडौंस्थित रुसी दूतावासले जनाएको छ ।


नेपाल सरकारले टेलिग्राम एप बन्द गराए पनि दूतावासको आधिकारिक टेलिग्राम च्यानल निरन्तर चलिरहने भन्दै सूचना नै जारी भएको हो । ‘तर, नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र टेलिग्राम प्लेटफर्मलाई ब्लक गर्ने निर्णय गरेकाले हाम्रो एकाउन्टमा पहुँचमा अवरोध हुनसक्ने सम्भावना छ’, दूतावासले भनेको छ, ‘हामी स्थिर सञ्चार कायम गर्न र अपडेटहरु वैकल्पिक माध्यममार्फत दिन पनि हरेक प्रयास गरिरहेका छौं ।’


दूतावासले भन्यो– विकल्पमा भीके

नेपाल दूरसञ्चार प्राधिकरणले २ साउनमा सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको थियो । त्यसपछि नेपालमा टेलिग्राम चल्न छाडेको छ । यस्तोमा काठमाडौंस्थित रुसी दूतावासले विकल्पका रुपमा रुसी सामाजिक सञ्जाल भीके प्रयोग गर्न समेत सुझाएको छ । भीके र टेलिग्राम दुवैका सञ्चालक एकै व्यक्ति हुन् । सन् २०१३ मा टेलिग्रामको स्थापना गर्नुअघि रुसी उद्यमी पावेल डुरोभले रुसको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल भिके स्थापना गरेका थिए । भीके सञ्चालनका क्रममा उनको सन् २०११÷१२ तिर तत्कालीन सत्तासँग असझदारी बढ्यो ।

राजनीतिक आन्दोलनका बेला सरकारले विपक्षी नेताहरुका पेज हटाउन दबाब दिएको थियो, तर उनले अस्वीकार गरेपछि विवाद उग्र बनेको थियो । दबाबका बीच उनले भीके छाडेको घोषणा गरेका थिए र रुसबाट निर्वासित भएका थिए । उनले टेलिग्राम खोलेपछिका केही वर्ष रुसमा समेत प्रतिबन्ध लगाइएको थियो । पछि उग्रवादी गतिविधिको अनुसन्धानमा सहयोग गर्ने सहमतिपछि रुसी सरकारले प्रतिबन्ध हटाएको थियो । काठमाडौंस्थित दूतावासले अहिले टेलिग्राममा समेत निरन्तर अपडेट हुने भन्दै विकल्पका रुपमा भीकेसहित फेसबुक र इन्स्टाग्रामबाट समेत अपडेट लिन सकिने भनेको छ । नेपालमा प्रतिबन्ध लागेकाले टेलिग्राम अपडेट गर्न दूतावासका अधिकारीहरुले समेत भीपीएन प्रयोग गर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस

भीपीएन के हो ? जोखिम के छ ?

सन् २०२२ नोभेम्बरमा भीके रसियाको छैठौं लोकप्रिय वेबसाइट थियो । युक्रेनमा समेत यसको लाखौं प्रयोगकर्ता थिए । तर, सन् २०१७ मा युक्रेनले यसलाई प्रतिबन्ध लगाएको थियो ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसुर निवारण सम्बन्धी राष्ट्रिय समन्वय समितिले टेलिग्रामलाई बन्द गराउन प्रक्रिया अघि बढाएको थियो । नेपालमा पनि २०८१ पुसमा एफवान सफ्टको प्रणाली ह्याक गरेर सिटिन्स बैंकको खाताबाट साढे ३ करोड रुपैयाँ चोरी भएको घटनामा टेलिग्राम जोडिएको थियो । त्यसबेला ह्याकरले टेलिग्राममार्फत बेरोजगार युवालाई प्रलोभन देखाएर रकम चोरी गरेको खुलेको थियो । लागूऔषध कारोबारमा समेत यसको प्रयोग हुने गरेको आशंका छ ।


रुसी नागरिक हुन् टेलिग्राम सञ्चालक

२०८१ को भदौमा टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डयु्रोभ आफैं फ्रान्समा पक्राउ परेका थिए । त्यसबेला उनीमाथि टेलिग्राममार्फत अवैध लेनदेन, लागूऔषध तस्करी, ठगी र बालबालिकामाथि यौन दुर्व्यवहारसँग सम्बन्धित तस्वीरहरू प्रसारमा संलग्नताको आरोप लगाइएको थियो । फ्रान्सले उनलाई त्यसबेला जमानतमा छाडे पनि पावेलको गिरफ्तारीले संसारभरि नै यो एपको नियमनबारे बहस सिर्जना गराइदिएको थियो । कतिपयले टेलिग्रामका सञ्चालकको गिरफ्तारी र यसमाथि लाग्ने प्रतिबन्ध पछाडि भूराजनीतिक कारण रहेको समेत विश्लेषण गर्ने गर्छन् । टेलिग्रामका संस्थापक पक्राउ परेका बेला कतिपयले यसलाई सामाजिक सञ्जालको नाममा भएको ‘डार्क वेब’ समेत भनेका थिए ।

‘डार्कवेब’ इन्टरनेटको संसारमा यस्तो प्लेटफर्म हो, जहाँ निश्चित सफ्टवेयरको प्रयोगबाट मात्र पहुँच गर्न सकिन्छ । त्यसमार्फत गैरकानुनी सामान र सेवाहरू बिक्री गरिन्छ, र प्रयोगकर्ताको कुनै पनि किमिसको रेकर्ड रहँदैन । डिजिटल दुनियाँमा यसलाई अपराधीहरूको स्वर्ग पनि भनिन्छ । यसमा भएका केही विशेषताहरूका कारण टेलिग्रामसमेत ‘हरेक व्यक्तिको गोजीमा भएको डार्कवेव’ जस्तो बनेको विश्लेषण गरिएको थियो ।


विश्वभर टेलिग्रामका ८० करोडभन्दा बढी प्रयोगकर्ता

अहिले विश्वभरि टेलिग्रामका ८० करोडभन्दा बढी प्रयोगकर्ता रहेको बताइन्छ । टेलिग्राममा ‘एन्ड–टु–एन्ड’ इन्क्रिप्सन सुविधा, सेल्फ–डिस्ट्रक्टिङ मेसेज र अनलाइन गोपनीयताको उच्च मापदण्ड रहेका कारण यो एप छोटो समयमा लोकप्रिय बनेको थियो । स्थापनायता नै यसको नारा ‘सुरक्षित, छिटो र स्वतन्त्र सञ्चार’ थियो । यसका सर्भरहरू रसियाभित्र नरहेको बताइन्छ भने मुख्यालय पनि दुबईमा रहेको टेलिग्रामले उल्लेख गरेको छ । यसका पक्षधरहरु भने अहिलेको समयमा टेलिग्रामले युद्ध, विरोध, सूचना सेन्सरसिपविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्छन् । रुसको आन्दोलन, युक्रेन–रुस युद्ध लगायतको सूचना प्रवाहमा यसले महत्वपूर्ण भूमिका खेलेको उनीहरु जिकिर गर्छन् ।


92 Views

Comments