काठमाडौं । कानुनमन्त्री अजय चौरासियाले महिला हिंसा बढ्ने गरी सरकारले कानुन नल्याउने बताएका छन् । आइतबार ध्यानाकर्षण गराउन पुगेको नेपाल महिला संघको टोलीलाई मन्त्री चौरासियाले सरकारले हिंसा बढाउने कानुन नबनाउने र कुनै शब्दले हिंसा हुन्छ भने पनि त्यस्ता शब्द सच्याउने बताए ।
“सरकारले हिंसा बढाउने कानुन नै ल्याउँदैन,” चौरासियाले भने, “कुनै शब्दले हिंसा हुन्छ भने त्यस्ता शब्दसमेत सच्याएर मात्र कानुन बन्नेछ ।” मन्त्री चौरासियाले कानुनको मस्यौदा नै तयार नभइसकेको र मस्यौदालाई अन्तिमरूप दिएपछि मन्त्रिपरिषद्मा लैजाने र मन्त्रिपरिषद्ले स्वीकृति गरेर अनुमति दिएपछि मात्र संसद्मा दर्ता हुने बताए । उनले संसद्ले पनि आवश्यक संशोधन गरेर मात्र पारित गर्ने भएकाले अहिले सरकारले बहुविवाहलाई मान्यता दिने कानुन ल्याउँदै छ भन्नु ‘स्टन्ट’मात्र भएको बताए ।
भेटमा कानुनसचिव पराश्वर ढुंगानासमेत सहभागी थिए । उनले कानुनको मस्यौदाले अन्तिमरूप नपाएको र आफूले बाहिर आएको विषय नबोलेको दाबी गरे । मस्यौदा तयार भएपछि सबै थाहा हुने उनको भनाइ थियो । महिला संघको प्रतिनिधिमण्डलले सरकारले हिंसा बढाउने कानुन बनाउन लागेको भन्दै मन्त्री र सचिवलाई प्रश्न गरेको थियो । प्रतिनिधिमण्डलसँग गएकी अभियन्ता जस्मिन ओझाले अनशरन व्यक्तिसँग वार्ता नगरेको भन्दै प्रश्न गरेकी थिइन् ।
तर, सचिव ढुंगानाले मस्यौदा आएको विषय नै गलत भएकाले मस्यौदा आएपछि अनशन आफैँ टुट्ने जवाफ दिए । विवाहेत्तर सम्बन्धबाट बच्चा जन्मिए बच्चाको अधिकार सिर्जना हुने तर विवाहले मान्यता नपाउने कानुनी व्यवस्थाले महिला नै हिंसामा परेको भन्दै कानुन संशोधनको गृहकार्य भइरहेको समाचार सार्वजनिक भएपछि अधिकारकर्मीले चर्को विरोध गरिरहेका छन् । त्यसकै विरोधमा विनु यादव अनशनमा छिन् ।
Comments