लुम्बिनी प्रदेशमा ९६ प्रतिशत धान रोपाईं

Bhugolpark

२० श्रावण, २०८२,१०:२९

बुटवल । लुम्बिनी प्रदेशमा यस वर्ष हालसम्म ९६ प्रतिशत धान रोपाईं सम्पन्न भएको छ । प्रदेशका १२ वटै जिल्लामा कुल तीन लाख दुई हजार ९३९ हेक्टर जमिन धान रोपाईंका लागि उपयुक्त छ । साउन १६ गतेसम्म दुई लाख ९० हजार ७०७ हेक्टरमा रोपाईं सम्पन्न भइसकेको छ, जुन ९६ प्रतिशत हो । प्रदेशका अधिकांश जिल्लामा ९० प्रतिशतभन्दा बढी रोपाईं सम्पन्न भइसकेको छ भने केही जिल्लाहरू विशेषगरी रोल्पा र बर्दियाले १०० प्रतिशत लक्ष्य पूरा गरेको कृषि विकास निर्देशनालय लुम्बिनी बुटवलका निमित्त प्रमुख रामप्रसाद पाण्डेले जानकारी दिए । 

  

कृषि विकास निर्देशनालय लुम्बिनी बुटवलले दिएको जानकारी अनुसार बर्दिया र रोल्पामा शतप्रतिशत रोपाईं भएको छ । बर्दिया ५० हजार १५० हेक्टर र रोल्पा जिल्लामा चार हजार ५४७ हेक्टर रोपाईं क्षेत्रमै पूरै रोपाईं सम्पन्न भएको महानिर्देशक पाण्डेले जानकारी दिए । गुल्मीमा भने कुल सात हजार ५३९ हेक्टर धान रोपाईं क्षेत्रफलमध्ये ६ हजार ५४४ हेक्टरमा रोपाईं भएको छ, यो ८७ प्रतिशत हो । रुपन्देहीमा ६२ हजार ६२२ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६० हजार ५६७ हेक्टरमा धान रोपिन्छ । ५९ हजार ३५६ हेक्टरमा हालसम्म रोपिएको छ, जसले ९८ प्रतिशत रोपाईं सम्पन्न भएको देखाउँछ ।

Public Kura | » लुम्बिनी प्रदेशमा ६० प्रतिशत धान रोपाईं

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कुल ४० हजार ६३९ हेक्टर खेतीयोग्य जमिनमध्ये २० हजार ४६० हेक्टरमा धान खेती हुने क्षेत्र रहेको छ । यसमा २० हजार ७० हेक्टरमा रोपाईं सम्पन्न भइसकेको छ । यो ९८ प्रतिशत हो । कपिलवस्तु जिल्लामा धान रोपाईं हुने क्षेत्रफल ६५ हजार ८७१ हेक्टर रहेकोमा ६२ हजार ९०७ हेक्टरमा रोपाईं सम्पन्न भइसकेको छ, जुन ९६ प्रतिशत हो । पाल्पामा ८ हजार २१० हेक्टर रोपाईं क्षेत्रफलमध्ये ७ हजार ९१७ हेक्टरमा रोपाईं सम्पन्न भएको छ । यो ९४ प्रतिशत हो । 


अर्घाखाँचीमा ६ हजार ७६० हेक्टर क्षेत्रफलमा रोपाईं हुने क्षेत्रमध्ये ६ हजार ६२५ हेक्टरमा रोपाईं सकिएको छ । यो ९८ प्रतिशत हो । दाङमा ३७ हजार २२५ हेक्टरमध्ये ३३ हजार ५०३ हेक्टरमा रोपाईं सकिएको छ, जुन ९० प्रतिशत हो । बाँकेमा ३४ हजार ७११ हेक्टरमध्ये ३२ हजार ५४२ हेक्टरमा रोपाईं सकिएको छ । यो ९४ प्रतिशत हो ।  प्यूठानमा ६ हजार ५२५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा ६ हजार ३९५ हेक्टरमा रोपाईं सम्पन्न भएको छ । जुन ९८ प्रतिशत हो । रुकुम (पूर्व)मा भने ३५४ हेक्टरमध्ये ३५२ हेक्टरमा रोपाईं सम्पन्न भएको छ, जुन ९९.५ प्रतिशत हो ।


कहाँ के खेती हुन्छ ?

लुम्बिनी प्रदेशका विभिन्न भौगोलिक क्षेत्रहरूमा जलवायु र जमिनको प्रकारअनुसार विविध जातका धान खेती हुँदै आएका छन् । प्रदेशमा समथर तराईदेखि पहाडी क्षेत्रसम्म फैलिएको भूभाग भएकोले हरेक क्षेत्रको विशेषताअनुसार धानका जातहरू चयन गरिन्छन् । यसले उत्पादनमा विविधता र स्थानीय स्वादमा फरकपन ल्याएको छ ।


कृषि विकास निर्देशनालय लुम्बिनी बुटवलका बरिष्ठ कृषि प्रसार अधिकृत विवेक पन्तका अनुसार प्रदेशका बर्दिया, बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासीजस्ता समथर तराई जिल्लाहरूमा उत्पादनमुखी उन्नत जातका धानहरू खेती गरिन्छ । यहाँ सामान्यतः सिँचाइ सुविधा राम्रो हुने भएकाले किसानहरू मन्सुली, सव–१, हर्दीनाथ–१, हर्दीनाथ–२, रमदानी, चम्पा, गजेन्द्र, सरजू–५२३ लगायतका उन्नत जातहरूमा निर्भर छन् । पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्यूठान र रुकुम (पूर्व)मा भने भौगोलिक बनावटअनुसार विशेष जातका धानहरू रोपिन्छन् । यहाँका किसानहरूले परम्परागत स्वाद र स्थानीय मौसमअनुकूलता अनुसार खुमल–४, खुमल–११, खुमल–१७, राधा–४, राधा–१२ जस्ता बाली खेती गर्दछन् । 


पहाडी जिल्लाका केही ठाउँमा आज पनि मार्सी, चोमे, झिरे, कालो मार्सीजस्ता परम्परागत धान जातहरू सुरक्षित राखेर खेती गरिँदै आएको छ । यस्ता जातहरू स्वादिलो र पोषिलो भए पनि उत्पादनमा भने उन्नत जातको तुलनामा कम हुनेगर्छ ।  कृषि मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा गर्मी (बर्खे) धान को रूपमा जेठ–असारमा मन्सुली, सव–१, हर्दीनाथ आदि जातहरू रोपिन्छन् । हिउँदे धान पनि केही क्षेत्रमा लगाइन्छ । पछिल्लो समय कृषकहरू उन्नत जातमा आकर्षित भइ उत्पादनवृद्धितर्फ उन्मुख भएको मन्त्रालयले जनाएको छ ।


39 Views

Comments