अब अमेरिका प्रवेश गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने

Bhugolpark

२० श्रावण, २०८२,१३:२१

काठमाडौं । अमेरिका प्रवेश गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्नुअघि १५ हजार अमेरिकी डलरसम्म जमानती बन्ड जम्मा गर्नुपर्ने नयाँ योजना सुरु गर्न लागेको हो । 


यो योजना पर्यटक (बी–२) वा व्यापार (बी–१) भिसामा अमेरिका आउने व्यक्तिमा लागु हुने बताइएको छ । यो नियम ओभरस्टे (अर्थात् तोकिएको समयभन्दा बढी बस्ने) का घटना धेरै भइरहेका देशका नागरिकमाथि लागु हुने बताइएको छ ।


नागरिकता सजिलै प्रदान गरिने देश, बिना बसोबासको सर्त वा लगानीमार्फत नागरिकता प्राप्त हुने देश वा स्क्रिनिङ र जाँच प्रणाली कमजोर मानिने देश यसभित्र पर्ने बताइएको छ । यद्यपि, अमेरिकाले अहिलेसम्म कुनकुन देशलाई यस योजनामा समावेश गरिनेछ भनेर स्पष्ट गरेको छैन । तर, यो योजना लागु हुनुभन्दा कम्तीमा १५ दिनअघि देशहरूको सूची जारी गरिने बताइएको छ ।


यस विषयमा कन्सुलर अधिकारीले कुन आवेदकले कति राशिको जमानत दिनुपर्ने हो भनेर निर्धारण गर्ने बताइएको छ । यो राशि अधिकतम १५ हजार डलरसम्म हुने बताइएको छ । यदि व्यक्ति तोकिएको समयमा अमेरिकाबाट फर्किए रकम फिर्ता गरिने बताइएको छ ।


अमेरिकामा यो योजना यही महिना (अगस्ट २०२५) बाट सुरु हुँदै छ । यस योजनाको परीक्षण १२ महिनासम्म चल्नेछ र ५ अगस्ट २०२६ सम्म कार्यान्वयनमा रहने बताइएको छ । यस योजनाको मुख्य उद्देश्य भिसा ओभरस्टे रोक्नु रहेको बताइएको छ । अमेरिकामा हरेक वर्ष लाखौँ मानिस तोकिएको समयभन्दा बढी बस्ने गरेकाले यो राष्ट्रिय सुरक्षाका लागि खतरा बन्दै गएको बताइएको छ ।


यस योजनामार्फत अमेरिकाले उनीहरूले विदेशी सरकारहरूलाई आफ्ना नागरिकहरूलाई अमेरिकामा कानुनको पालना गर्न प्रेरित गरून् भन्ने सन्देश दिन चाहेका बताइएको छ । अमेरिकाको होमल्यान्ड सेक्युरिटी विभाग (डीएचएस)को प्रतिवेदनअनुसार, सन् २०२३ मा करिब पाँच लाखभन्दा बढी मानिसहरूले अमेरिकामा ओभरस्टे गरेका थिए ।


50 Views

Comments