भारतमाथि अमेरिकाको ट्यारिफले नेपालमा पर्दै छ असर, रुपैयाँ कमजोर बन्दै

Bhugolpark

२२ श्रावण, २०८२,११:०३

काठमाडौं ;

अमेरिकाले भन्सारदर (ट्यारिफ) बढाएपछि भारतको मजवुत अर्थतन्त्र कमजोर बन्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाएपछि दुई मुलुकबीच असमझदारी बढ्दै आएकोमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेपछि यसको ठूलो असर व्यापारमा पर्ने भएको छ ।


अमेरिकारले दोब्बर बढाएर ट्यारिफ ५० प्रतिशत पुर्याएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार यो कर आदेश जारी भएको मितिबाट २१ दिनपछि लागु हुनेछ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भारतले हाल रुसी तेल आयात गरिरहेकाले अमेरिकाले भारतबाट आउने सबै उत्पादनहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको स्पष्ट पारेका छ । 


अमेरिकाले ट्यारिफ लगाएपछि भारतमा डलर सञ्चिति घट्न थालेको छ । विदेशी विनिमय सञ्चिति नौ अर्ब डलर घटेको समाचार संस्था रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार पछिल्लो साता भारतको डलर सञ्चिति घटेर ६ खर्ब ८९ अर्ब डलरमा झरेको छ । अहिलेको सञ्चितिले भारतमा ११ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने बताइएको छ । अमेरिकाको ट्यारिफले डलर सञ्चिति घटेको भारतीय रिजर्भ बैंक (आरबीआई)का गभर्नर सञ्जय मल्होत्राले जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ । 


डलर सञ्चिति घट्दै गएपछि भारतीय रुपैयाँ (भारु) कमजोर बनेको छ । अहिले ८७.७० भारु पुगेको छ । भारतले अमेरिकामा झण्डै ९० अर्ब डलरको वस्तु निर्यात गर्दै आएको छ । ५० प्रतिशत भन्सार शुल्क लगाएपछि भारतीय वस्तु झनै महंगो हुन गई निर्यातमा गिरवट आउने र यसले विदेशी विनिमय सञ्चिति घटाउनेछ । 


राष्ट्रपति ट्रम्पले पारस्पारिक आधार (रिसोप्रोकल)मा दुई मुलुकबीच व्यापार हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

यता, भारु कमजोर भएपछि यसको असर नेरुमा परेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक डलर बराबर १४०.६८ बिक्री दर तोकेको छ ।


गत जेठसम्म १३६ रुपैयाँ आसपासमा रहेको डलर इरान र इजरायलबीचको युद्धले बलियो बनेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले लिएको व्यापार नीतिका कारण गत माघमा डलरको मूल्य बढेर १४१ रुपैयाँ पुगेको थियो । नेरुको भारुसँग स्थिर विनिमयदर (फिक्सड पेग) छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँमा पनि असर पर्ने गरेको छ । 


भारुमा आउने उतारचढावले नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ । भारतमा घटे पनि नेपालमा बढेर १८ अर्ब ६५ करोड डलर सञ्चिति पुगेको छ । डलर बलियो हुँदा आयातित वस्तु थप महँगो हुने देखिन्छ भने आयातित कच्चा वस्तुको भाउ बढेर उद्योगको उत्पादन लागत बढ्नेछ । 


विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ । अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ । 

डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् भने रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने गरेको छ । रेमिट्यान्स आप्रवाह गत आर्थिक वर्षको ११ महिनामा १५.५ प्रतिशत वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।


विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड राखेको छ । राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशत बढेर गत जेठमा २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । नेपालसँग १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति छ । यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउछन् ।


यद्यपि, डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ । यस्तै, विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ र भाउ पनि बढ्छ । अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ । विश्व बैंकले ब्याज दोब्बर बढाएकाले आगामी दिनमा वैदेशिक ऋणको दायित्व थपिने भएकोे छ । 


आगामी आर्थिक वर्षमा सरकारले तीन खर्ब ७५ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ । गतवर्ष सरकारले तीन खर्ब २० अर्ब रुपैयाँ ऋण तिरेको छ । विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्नेछ ।


91 Views

Comments