समाचार होइन पीडा : जहाँ प्रेमभन्दा हिंसा हावी छ

Bhugolpark

७ भाद्र, २०८२,११:३४

आजको विश्वलाई नियाल्दा कतै युद्धको डंका बजिरहेको छ, कतै निर्दोष मानिसहरू रगतको नदिमा बगाइँदै छन् । नेपाल मात्र होइन, संसारभरै हिंसा, अत्याचार, विभेद र हत्या–हिंसाका समाचारहरू दैनिक सुनिन थालेका छन् । पति–पत्नीबीचको सम्बन्धमा भरोसाको ठाउँमा शंका र अपमान देखिन्छ; कहिले पत्नीले श्रीमानलाई हेपेको खबर आउँछ, कहिले श्रीमानले श्रीमतीलाई कुटपिट वा हत्या गरेको समाचार पढ्न पाइन्छ । प्रेम सम्बन्धमा समेत विश्वास, माया र आदरभन्दा बढी धोका, हत्या र दुर्व्यवहारका घटनाहरू सुन्नु अब नौलो कुरा रहेन ।


यसैबीच, बलात्कारका घटना अझै समाजलाई झस्काइरहेका छन् । बच्चादेखि वृद्धसम्म, पुरुषदेखि महिला–सबै कसैलाई पनि सुरक्षाको ग्यारेन्टी छैन । सडक, विद्यालय, कार्यस्थल वा घर– कुनै पनि स्थान अब सुरक्षित महसुस गर्न सकिँदैन भन्ने अनुभूति हरेक दिन बढ्दो छ ।


महाभारतमा वर्णन गरिएको कलीयुगको प्रभाव आज प्रत्यक्ष देखिएको जस्तो लाग्छ । स्वार्थ, ईर्ष्या, घृणा र लोभले मानिसको हृदय ढाकिदिँदा मानवीयता र करुणा लोप हुँदै गएको छ । धर्म, नीति र संस्कृतिको चर्चा गर्ने समाजमै अन्याय र अपराध हावी हुँदा प्रश्न उठ्छ— के यो नै कलीयुगको चरम अवस्था हो? के साँच्चै अन्त्य नजिकिँदै छ?


तर, आशाको किरण अझै हराएको छैन । अन्धकारकै बीचमा पनि उज्यालो खोज्न सकिन्छ । हरेक क्रुर समाचारको बीचमा सहयोगी मन, समाज सुधारका पहल, शान्ति र सहिष्णुताका प्रयास पनि त्यत्तिकै भइरहेका छन् । प्रश्न भने यही हो— हामी कुन पक्षलाई बढावा दिने?


आजको आवश्यकता हो, हरेक व्यक्ति, परिवार र समाजले आत्ममूल्यांकन गर्ने, हिंसा र घृणाभन्दा प्रेम, करुणा र सहअस्तित्वलाई रोज्ने । अन्यथा, हामी आफैंले निर्माण गरेको अन्धकारले नै हामीलाई ग्रस्नेछ ।


108 Views

Comments