काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान अस्तव्यस्त भएको छ । यसले हजारौँ यात्रु मर्कामा परेका छन् । फ्रिक्वन्सी बिग्रिएको कारण यस्तो समस्या भएको विमानस्थलले जनाएको छ ।
विमान कम्पनीहरुले भने आफूहरुको उडान हुन नसकेको बताएका छन् तर विमानस्थलले केही ढिलाइमात्रै भएको बताएको छ । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार टावरमा समस्या आएका कारण केही उडानमा ढिलाइ भएको बताए ।
तर एक विमान कम्पनीका सञ्चालकले बाह्रखरीसँगको कुराकानीमा भने–बिहानैदेखि समस्या आएको हो । हाम्रा सबै उडान निकै अस्तव्यस्त भएका छन् ।”
विमानस्थल प्रवक्ता रिन्जी शेर्पाले पनि टावरमा समस्या आएका कारण यस्तो भएको बताए ।
उनले भने, “टावरमा टेक्निकल समस्या आएका कारण केही ढिलाइ भएको हो, सबै उडान ठप्प भएका चाहिँ होइनन् । टावरमा समस्या आएको हुनाले पूर्ण काम हुन नसकेको हो । फूल फ्लेजमा काम हुन नसकेको हो । पूर्णरुपमा उडान भर्न नसकिएको हो ।”उनले अहिले आधा घण्टादेखि उडानमा समस्या नभएको बताउँदै समस्या समाधानको चरणमा रहेको बताए ।
Comments