पोर्चुगलबाट दशैं मनाउन हिँडेका नेपालीको आवास अनुमतिपत्र एयरपोर्टमै खारेज

Bhugolpark

२ आश्विन, २०८२,१०:१६

२ असोज, लिस्वन (पोर्चुगल) । बुधवार स्थानीय समय अनुसार दिउँसो १२ बजेतिर यहाँको नेपाली समुदायमा र सामाजिक सञ्जालमा सन्सनीपूर्ण खबर फैलियो– नेपाल फर्कदै गरेकाहरुको अस्थायी/स्थायी आवास अनुमतीपत्र पोर्चुगल सरकारले एयरपोर्टमै खारेज गरिदियो ।

दशैंका लागि नेपाल फर्कन लागेका र आजभोलिमै जाने तयारीमा रहेका सयौं नेपालीहरुमा यो खबरले त्रास फैलियो । धेरैले यसलाई ‘फेक न्युज’भनेर पन्छाइरहेको समयमा गैरआवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन–एनसीसी) पोर्चुगलले यस घटनाको पुष्टि गरेको छ ।

बुधवार मात्रै पोर्चुगलको राजधानी लिस्वनस्थित एयरपोर्टबाट १२ जना आप्रवासीहरुलाई पोर्चुगलको आवास अनुमति पत्र लिएर देश बाहिर जान रोक लगाएको हो । त्यसमा केही नेपाली समेत परेका छन् ।

उनीहरुलाई यहाँका अध्यागमनका अधिकारीहरुले अनाधिकृत रुपमा पोर्चुगल प्रवेश गरेर आवास अनुमतिपत्र बनाएको आरोप लगाएका छन् ।

सेङ्गेन क्षेत्रमा पर्ने देशको भिसा नभई पोर्चुगल प्रवेश गरेका र यहाँको आवास अनुमतिपत्र बनाएका आप्रवासीहरुको उक्त अनुमतिपत्र खारेजीको लागि प्रक्रियामा हालिदिएको बुझिएको छ ।

पोर्चुगलमा रहेका दुई एनआरएनमध्ये एकका अध्यक्ष दीपा काफ्लेका अनुसार यही समस्यामा परेको एक जना नेपाली सम्पर्कमा आएका छन् ।

सन् २०२२ मा युकेबाट पोर्चुगल प्रवेश गरेका ती नेपाली यहाँको आवास अनुमतिपत्र लिएर बुधवार नेपाल जाँदै थिए । तर सेङ्गेन क्षेत्रमा पर्ने देशको भिसाविना पोर्चुगलमा बसेको र यहाँको आवास अनुमति प्राप्त गरेको भन्दै उनलाई अध्यागमनका अधिकृतहरुले एयरपोर्टमा रोकेका थिए ।

उनले प्राप्त गरेको अस्थायी आवास अनुमतीपत्रलाई अवैध भनेसँगै यहाँ रहेका अरु आप्रवासीहरु पनि अन्यौलमा परेका छन् । यहाँ रहेका प्राय: आप्रवासीहरु अवैध तरिकाले प्रवेश गरेका छन् ।

डेढ वर्षअघिसम्म जुनसुकै देशबाट जुन कुनै हालतमा यहाँ आइपुगे पनि कागजी प्रक्रिया सुरु गर्न सक्ने र बढीमा १२ महिनाको कर तिरेपछि कामदारका रुपमा अस्थायी आवास अनुमतिपत्र प्राप्त गर्न सकिने कानूनी प्रावधान थियो । धेरै आप्रवासीहरुले यसैगरी यहाँको आवास अनुमतिपत्र लिएका छन् ।

सेङ्गेन क्षेत्रका देश वा यहीँ पोर्चुगलको भिसामा यहाँ आएर आवास अनुमतिपत्र प्राप्त गर्नेहरुको संख्या कम छ । यसरी सरकारी अधिकारीहरुले अचानक युरोपमध्ये पनि सेङ्गेन क्षेत्रको देश प्रवेश गर्दाको वैधानिक बाटो र भिसाको खोजी गरेपछि अहिले दशैंमा घर जानका लागि ठिक्क परेका धेरै नेपालीहरु समस्यामा छन् ।

एनआरएन अध्यक्ष दीपा काफ्लेका अनुसार अहिले फिर्ता भएका उनै एक नेपालीको घटनालाई आधार बनाएर छलफल र सहजीकरणको प्रयास भइरहेको छ । बुधवार राष्ट्रिय शोकका कारण लिस्वनस्थित नेपाली राजदूतावास बन्द रहेकाले बिहीवार सहजीकरण गर्ने उनले जनाइन् ।

पोर्चुगल वा सेङ्गेन क्षेत्रमा पर्ने जुनकुनै देशको भिसा भएकाहरु पोर्चुगलमा सहज रुपमा आएर बसोवास गर्न, काम गर्न र यहाँको नागरिकता प्राप्तिको प्रक्रियामा सहजै सामेल हुन पाउने कानून यहाँ झण्डै २० वर्षसम्म रह्यो । त्यस्तै झण्डै १२ वर्षसम्म जुनकुनै बाटोबाट आए पनि यहाँ काम गर्न थालेका र सरकारी करमा सामेल भएका श्रमिकहरुलाई एक वर्षसम्म काम गरेपछि अस्थायी आवास अनुमतिपत्र दिने कानून थियो ।

डेढ वर्षअघि खारेज भएको उक्त कानूनी आधारमा नै धेरै आप्रवासीहरु अन्य देशबाट भाग्दै र लुक्दै पोर्चुगल आएर आवास अनुमतिपत्र लिएका थिए । अहिले त्यसरी यहाँ प्रवेश गरेर अनुमतिपत्र लिएकाहरुको हकमा समस्या उत्पन्न भएको हो ।

अनौपचारिक तथ्याङ्क अनुसार पोर्चुगलमा ७० हजारभन्दा बढी नेपाली छन् । त्यसमध्ये अहिले अध्यागमन अधिकारीहरुले भनेजस्तो ‘अवैध’ रुपमा यहाँ आएर बसोबास थालेकोहरुको संख्या हज्जारौं छ । जसले गर्दा बुधवार देखिएको घटनाले धेरै नेपालीहरुलाई प्रभावित पार्ने छ ।

‘बुधवार नेपाल जान रोक लगाइएको एक जना हाम्रो सम्पर्कमा आउनु भयो, मंगलवार पनि यही घटना भएको जानकारीमा आएको छ’, एनआरएन अध्यक्ष काफ्ले भन्छिन्, ‘यसरी धेरैको आवास अनुमतिपत्र नै रद्द गर्ने प्रक्रिया अगाडि बढाइसकेको घटना सार्वजनिक भएको छ, यसमा नेपाली दूतावासले समाधान खोज्नु र सहजीकरण गर्नु आवश्यक छ ।’

जानकारहरुका अनुसार सेङ्गेन देशको भिसा नभएकोलाई कारण बनाएर अध्यागमनले रोक्ने क्रम जारी रहेमा यहाँबाट आप्रवासीहरु बाहिर जान पाए पनि अन्य कुनै पनि मुलुकबाट यहाँ प्रवेश गर्न सक्ने छैनन् । जसले गर्दा नेपालबाट फर्कने तयारीमा रहेकाहरुलाई यहाँको अध्यागमनले रोक्ने छ । सेङ्गेन भिषाविना सन् २०२० भन्दा पछि पोर्चुगल प्रवेश गरेकाहरुले तत्काल यस समस्याको निकास नआएसम्म पोर्चुगल छाड्नु वा बाहिरी देशबाट पोर्चुगल प्रवेश गर्नु खतरा हुनसक्ने बताइएको छ ।

आप्रवासीद्वारा विरोध प्रदर्शन

पोर्चुगलको संसद भवन अगाडि आप्रवासीहरूले बुधवार दिउँसो प्रदर्शन गरेका छन् । आप्रवासीहरुको आवास अनुमतिपत्रमा बिहानै अध्यागमनले एयरपोर्टमा कडाइ गरेको भए पनि यो प्रदर्शन केही दिन अघि नै निर्धारण भइसकेको थियो ।

लिस्बनस्थित पोर्चुगिज संसद भवन अगाडि सयौं आप्रवासीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । बुधवार देखापरेको आवास अनुमतिपत्रको बैधतामा अध्यागमन विभागले गरेको कारबाहीले प्रदर्शनमा बढी चर्चा पाएको भए पनि प्रदर्शनकारीहरुले अधिकार र नागरिकता प्राप्तिमा सहजताको माग गरेका छन् ।

आप्रवासनसम्बन्धी कानुनमा सुधार, नागरिकता प्राप्तिमा सहज प्रक्रियालगायतका माग उनीहरुको थियो । प्रदर्शनमा विभिन्न देशका आप्रवासीहरू सहभागी थिए । उनीहरूले ‘आप्रवासीको अधिकार, मानवअधिकार हो’ ‘हामी पनि यहीँ बस्छौं, यहीँ काम गर्छौं’ जस्ता नारा लेखिएका ब्यानर तथा प्लेकार्ड देखाएका थिए ।

प्रदर्शनमा अफ्रिकी मुलुकका नागरिक तथा एसियनहरुको उल्लेख्य सहभागिता थियो । प्रदर्शनकारीहरूले आप्रवासन नीतिमा आउन लागेको फेरबदल र पछिल्ला दिनमा भइरहेको कडाइबारे आवाज उठाएका थिए ।

नेपालीद्वारा हत्या

आप्रवासीहरुलाई स्थानीय सरहका अधिकार दिनुपर्ने माग उठिरहेकै समयमा एक आप्रवासीले नै यहाँका स्थानीयको हत्या गरेको समाचार सार्वजनिक भएको छ । पोर्चुगलको कार्तासो भन्ने ठाउँमा नेपालीले एक पोर्तुगिज नागरिकको हत्या गरेका छन् । खाना बनाउने विषयमा विवाद भएको र नेपालीले ती ३० वर्षीय स्थानीय युवाको घाँटीमा छुरा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

एकै घरमा बस्ने साथीको सोमवार हत्या गरी ती नेपाली फरार भएको यहाँका स्थानीय सञ्चार माध्यमहरुले समाचार प्रसारण गरिरहेका छन् । नाम सार्वजनिक नगरिएका उनी नेपाली भएको र ३८ वर्षीय पुरुष रहेको जनाइएको छ । मानवअधिकार, सुरक्षा जस्ता विषयमा संवेदनशील मानिने यहाँ सामान्य विवादमा हत्या भएपछि आप्रवासीहरुप्रति थप कठोर बन्न सरकारलाई मद्दत मिलेको छ ।


31 Views

Comments