२ असोज, काठमाडौं । भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुलेको बुङ्गल हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट भएको छ ।
बिक्री प्रवन्धक हिमालयन क्यापिटलले एक कार्यक्रमका बीच सेयर बाँडफाँट गरेको हो । कुल २१ लाख ७५ हजार ८८८ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका थिए । स्वीकृत आवेदन २१ लाख ४३ हजार २५० रहेका थिए ।
यीमध्ये १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी १९ लाख ७३ हजार १ सय आवेदकको हात रित्तो भएको छ । स्वीकृत आवेदनमध्ये सेयर पाउने जम्मा ७.९ प्रतिशत मात्रै हो ।
आईपीओको नतिजा केही बेरपछि अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।
कम्पनी भने नोक्सानीमा छ । आयोजना नै सञ्चालन भइनसकेकाले गत चैत मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ४ करोड १५ लाख रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १६ पैसा छ ।
कम्पनीले बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ बराबर छ । अनुमति बहाल रहने अवधि २६ वर्ष १० महिना रहेको छ । केयर रेटिङबाट कम्पनीले बी रेटिङ पाएको छ ।
Comments