कारागारबाट भागेका ५७ कैदीबन्दी आफैं फर्किए, २७४ जना फरार

Bhugolpark

४ आश्विन, २०८२,०९:३६

४ असोज, हेटौंडा । जेन-जी आन्दोलनको मौका छोप्दै मकवानपुरको भीमफेदी कारागारको पर्खाल भत्काएर भागेका ५७ जना कैदीबन्दी आफैं फर्किएका छन् ।

२४ भदौ बिहान कारागारको ‘क’ र ‘ख’ गरी दुई वटै ब्लकमा राखिएकामध्ये ४४० जना कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीहरु सुरक्षा निकायको सक्रियतामा धमाधम पक्राउ पर्दै आएका छन् । जसमा ५७ जना कैदीबन्दी आफैं सम्पर्कमा आएको कारागार प्रमुख सुवास पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

कारागार प्रशासनले दिएको जानकारीअनुसार आज शुक्रबार साँझ ७ बजेसम्म नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको सहयोगमा हालसम्म भीमफेदी कारागारका १८६ जना कैदीबन्दी कारागारको नियन्त्रणमा आइसकेको प्रमुख पौडेलले बताए । भागेकामध्ये २५४ जना कैदीबन्दीको अझै अत्तोपत्तो छैन ।

अन्य कारागारबाट भागेका ६१ जना कैदीबन्दीलाई पनि भीमफेदी कारागारमा ल्याइएको छ । काठमाडौंका कारागारबाट भागेका कैदीबन्दी मकवानपुरबाट पक्राउ गरेका छन् । कुल १ हजार ६६ जना कैदीबन्दी राखिएको कारागारमा हाल ८६१ जना मात्रै रहेका छन् ।

२४ भदौमा ‘क’ ब्लकबाट २६० जना र बिहानको समयमा ‘ख’ ब्लकबाट १८० कैदीबन्दी पर्खाल भत्काएर भागेका थिए । कैदीबन्दी भाग्न खोज्दा कारागारमा सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप भएको थियो । झडपमा सेना र सशस्त्र प्रहरीले २०० भन्दा बढी हवाई फायर गरेको थियो ।

 


43 Views

Comments