अझै दिएन यूएईले नेपाली टिमलाई भिसा

Bhugolpark

५ आश्विन, २०८२,१२:३३

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली क्रिकेट टिमलाई युनाइटेड अरब इमिरेट्स (यूएई)ले भिसा दिन अस्वीकार गरेको छ ।

नेपाली टिमको पूर्वनिर्धारित तालिकाअनुसार शुक्रबार (असोज ३) शृंखलाका निम्ति यूएई उड्ने तालिका थियो । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार (असोज २) नै उनीहरूको बिदाइ कार्यक्रम राखेको थियो । तर, खेलाडीले अझै भिसा पाउन सकेका छैनन् ।

प्रक्रिया पूरा भइसके पनि अझै भिसा नआएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । भिसा नआए नेपाल र वेस्ट इन्डिजबीचको यो ऐतिहासिक शृंखला नै रद्द हुने सम्भावना रहेको उनले बताए ।

“भिसा अझै आएको छैन । प्रक्रिया सबै पुर्‍याएका नै छौँ । आउँछ भन्ने आशामा बसिराखेको छौँ । अब भिसा नै आएन भने त शृंखला हुने सम्भावना नै हुँदैन,” प्रवक्ता लामाले बाह्रखरीसँग भने ।

नेपाली क्रिकेटको इतिहासमा टी–२० विश्वकप विजेतासँग हुन लागेको यो पहिलो शृंखला हो । यसलाई क्यानले ‘युनिटी कप’ नाम समेत दिएको छ ।

शृंखला यही सेप्टेम्बर २६ देखि सुरु हुने तालिका छ । शृंखलाका सबै खेल शारजाह क्रिकेट रंगशालामा हुनेछ । नेपालले सेप्टेम्बर २७ मा शृंखलाको पहिलो खेलको तालिका छ । सेप्टेम्बर २९ मा दोस्रो र सेप्टेम्बर ३० मा तेस्रो तथा अन्तिम खेलको तालिका छ ।


18 Views

Comments