७ असोज, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरोले सडकमा सवारीसाधनको लामो जाम छ । काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने सवारीसाधनहरूको जाम लागेको हो । जसका कारण सयौं यात्रुहरू अलपत्र परेका छन् ।
प्रहरीले उक्त सुक्खा पहिरो छल्नका लागि तीन वटा वैकल्पिक सडक प्रयोग गर्न भनेको छ । जसमध्ये धादिङको मलेखु (फुर्के खोला) बाट सल्यानटार, गोरखाको आरुघाट हुँदै तनहुँको आँबुखैरेनी निस्किने एउटा वैकल्पिक सडक हो । पश्चिम जाने र पश्चिमबाट आउने सवारीसाधनहरूलाई यो वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ । जसका कारण यो सडकमा अहिले सवारीसाधनको चाप बढेको छ ।
तर यो सडकखण्ड अन्तर्गत सल्यानटार-आरुघाटको कच्ची सडकमा खाल्डाखुल्डी भएका कारण यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ । झन्डै २ किलोमिटर कच्ची सडकको अवस्था नाजुक भएका कारण यात्रुहरूले गाडी धकेलेर हिँड्नु परेको यात्रुहरूले गुनासो गरेका छन् ।
कच्ची सडकको जताततै ठूलाठूला खाल्डाखुल्डी भएका कारण यो चर्को घाममा यात्रुहरू पैदल हिंड्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । वैकल्पिक सडक प्रयोग गर्न भनिए पनि सडकमा गाडी गुड्न सक्ने नसक्ने अवस्थाबारे पूर्वतयारी नगरी सयौं गाडीहरू गुड्न दिइएको गाडी चालक सुजन तामाङको गुनासो छ ।
तत्काल सडकमा देखिएका खाल्डाखुल्डी नपुर्ने हो भने गाडी गुडाउनै नसक्ने अवस्था आउने उनको भनाइ छ ।
यो सडक प्रयोग गरी आँबुखैरेनी निस्किएपछि पोखरा–पाल्पा हुँदै बुटवलबाट पश्चिम जान सकिन्छ । आँबुखैरेनीबाट फेरि मुग्लिन निस्किएर चितवनको नारायणगढ पनि निस्किन सकिन्छ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर पहिरो पन्छाएर बाटो खुलाइसकिएको छ ।
यद्यपि तुइन खोलानेर पहिरोको जोखिम भने कायमै छ ।
Comments