६८१३ कैदी कारागार बाहिर : सुरक्षा चुनौतीसँगै विदेश भाग्ने जोखिम

Bhugolpark

९ आश्विन, २०८२,१०:५६

९ असोज, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनको मौका छोपेर कारागार तोडेर भागेका कैदीबन्दीका कारण अहिले समाज त्रस्त छ ।

कैदीबन्दी समाजमा खुलेआम हिँड्दा सुरक्षा चुनौतीमात्रै थपिएको छैन, विदेश भाग्ने जोखिमसमेत बढेको छ । आज बुधबार १२ बजेसम्मको तथ्यांकअनुसार अझै ६ हजार ८१३ कैदीबन्दी खुला समाजमा छन् । उनीहरू कारागारको चौघेरामा आउन बाँकी नै छ । नेपालमा जघन्य अपराध गरेर कारागार पुगेका कैदीबन्दी विदेश भाग्न सक्ने भन्दै अहिले कारागार व्यवस्थापन विभागले यसबारे गृहकार्य सुरु गरेको छ ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार अहिले धमाधम फरार कैदबन्दीहरूको विवरण अध्यावधिक गर्ने काम भइरहेको छ । ‘हामीले कैदीबन्दीको वैयक्तिक विवरण अध्यावधिक गरिरहेका छौं । यसबारे अध्यागमनलाई पनि जानकारी गराएका छौं,’ न्यौपानेले अनलाइनखबरसँग भने । कारागार कार्यालयहरू तोडफोड तथा जलेर नष्ट भएकाले कैदीहरूको विवरणसमेत जलेकाले केही समस्या भएको बताइएको छ ।

कारागारबाट बाहिर रहेका कैदीबन्दी विदेश भाग्न सक्ने भन्दै उनीहरूको विवरण अध्यावधिक गर्ने काम भइरहेको छ । विवरण अध्यावधिक गरेका कैदीबन्दीका नागरिकता, पासपोर्ट लगायतको विवरण अध्यागमनमा बुझाइने उनले बताए ।

अध्यागमन विभागले पनि यसबारे काम भइरहेको बताएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले कारागार व्यवस्थापन विभागले पठाएका विवरणअनुसार अध्यागनले रेकर्ड राखेर निगरानी सुरु गरेको बताए ।

‘विदेश भाग्ने सम्भावना हुने भएकाले कारागार विभागलाई जतिसक्दो चाँडो विवरण पठाउन भनेका छौं । भोलिसम्ममा फरार सबै कैदीबन्दीको विवरण पठाउने जानकारी आएको छ,’ तिवारीले अनलाइनखबरसँग भने ।

सबै विवरण आएपछि सिस्टममा कालोसूचीमा राखेर निगरानी बढाइने अध्यागमनले बताएको छ । ठूलो संख्यामा कैदीबन्दी कारागार बाहिर रहेपछि केही देशले नेपालीको भिसामा कडाइ गरेका छन् ।

भारतीय अध्यागमन कार्यालयहरूमा पनि त्यस्तो केरकार बढेको यात्रुहरूले बताएका छन् । खासगरी खुला सीमाका कारण कैदी भारत छिर्न सक्ने भन्दै भारतले सबै सीमा क्षेत्रमा चेकजाँच र सोधपुछमा कडाइ गरेको बताइएको छ ।

अझै ६ हजार ८१३ कैदी फरार

कारागारबाट भागेका ६ हजार १९१ कैदीबन्दी र सुधारगृहबाट भागेका ६२२ गरी ६ हजार ८१३ कैदीबन्दी अझै फरार छन् । बुधबार दिउँसो १२ बजेसम्मको तथ्यांकअनुसार कारागारबाट भागेकामध्ये ७ हजार ७३५ कैदीबन्दी फिर्ता आएका छन् ।

जेनजी आन्दोलनको क्रममा झुम्का, सोलुखम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जग्गनाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कन्चनपुर गरी २८ वटा कारागारबाट १३ हजार ५८५ कैदीबन्दी भागेका थिए ।

त्यसैगरी मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी गरी ९ वटा बाल सुधार गृहबाट ९४६ कैदीबन्दी गरी जम्मा १४ हजार ५४९ कैदीबन्दी फरार भएका थिए ।

तीमध्ये कारागारतर्फ ७ हजार ३९४ र सुधारगृहतर्फ ३४१ गरी ७ हजार ७३५ कैदीबन्दी कारागार फिर्ता भइसकेका छन् । यीमध्ये केही आफैं कारागार फिर्ता आएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको थियो । अहिले कारागारतर्फ ६ हजार १९१ र सुधारगृहतर्फ ६२२ गरी ६ हजार ८१३ कैदीबन्दी फिर्ता आउन बाँकी छन् ।

सुरक्षा चुनौती बढ्यो

नख्खु कारागारमा रहेका कैदी सन्तबहादुर तामाङ फरार भएका थिए । जेनजी प्रदर्शनको क्रममा कारागारबाट भागेका उनी आफ्नो घर पनौती नगरपालिका-१२, गागल पुगे । श्रीमती मनिषा घ्यावा तामाङ (जमुना)को हत्या गरे ।

श्रीमतीको हत्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर

शव खाल्डो खनेर पुरे । अनि उनी बेपत्ता भए । पछि खोज्दा खुल्यो उनी फेरि नख्खु कारागार नै फर्किसकेका रहेछन् । श्रीमती हत्याबाट जोखिन उनी सुटुक्क आफैं कारागार फर्केको अनुसन्धानबाट खुल्यो ।

सन्तबहादुर बलात्कारको कसुरमा कारागार पुगेका थिए । उनले कैद भुक्तान गर्न जम्मा एक महिना मात्रै बाँकी थियो । यही अवस्थामा कारागारबाट भागेर श्रीमतीको हत्या गरे ।

उनी मात्रै होइन, जेनजीकै आन्दोलनको क्रममा भागेका अर्का कैदी दीपक सुनारले पनि यस्तै प्रकृतिको अपराध गरेका थिए । कञ्चनपुर कारागारबाट फरार भएका दोधाराचाँदनी नगरपालिका-१ का ३५ वर्षीय सुनारले अर्को बलात्कार प्रयास गरे ।

सुनारले दोधाराचाँदनीकी ५० वर्षीया महिलालाई बलात्कार प्रयास गरेका थिए । खाना खाएर सुतेकी ती महिलालाई सुनारले जबरजस्ती गर्न खोजेका थिए । त्यसपछि ती महिला चिच्याएकी थिइन् ।

महिला कराएपछि सुनार भागेका थिए । भाग्दै गरेका उनलाई स्थानीयले लखेट्दै केही पर पुर्‍याएर खेतबाट नियन्त्रणमा लिए । त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो । सुनार यसअघि पनि बलात्कार कसुरमा जेल परेका व्यक्ति हुन् । एक महिलालाई बलात्कार गरेको घटनामा उनलाई ९ वर्ष जेल सजाय तोकिएको थियो ।

यी दुई प्रतिनिधि घटना मात्रै हुन् । उनीहरू जस्तै अहिले कारागारबाट भागेका करिब ७ हजार कैदीबन्दीबाट सुरक्षा चुनौती बढेको छ । अझ यहीबीचमा चाडबाडको समय रहेकाले चोरी-डकैती जस्ता अपराध बढ्न सक्ने आकलन प्रहरीले गरेको छ ।

एकातिर सुरक्षा गर्ने प्रहरी नै हातहतियार र गोली गट्ठाविहीन हुनुपर्ने अवस्था छ भने प्रहरी चौकीसमेत जलेर नष्ट भएका छन् । सुरक्षा दिने प्रहरी कार्यालयविहीन अवस्थामा हुनु, कैदीबन्दी जेल बाहिर हुनु र चाडपर्वको समय समेत यही बेला परेकाले सुरक्षा चुनौती बढ्ने जानकारहरू बताउँछन् ।


15 Views

Comments