सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते

Bhugolpark

६ पुष, २०८२,०९:२३

७ पुस, काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटको एक घरको भान्सा कोठामा लागेको आगलागीमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

आइतबार अपराह्न साढे चार बजेको समयमा धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको साढे २ तले पक्की घरको बीच तल्लामा रहेको भान्सा कोठाभित्र अचानक आगलागी भएको थियो । भान्सामा प्रयोग भइरहेको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानएको छ ।

आगलागी हुँदा घरभित्रै रहेकी दुर्गामान बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जन आगलागीमा परेको र आगो अत्यन्त तीव्र भएकाले उनलाई बाहिर निकाल्न नपाउँदै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

आगलागीमा ससुरा दुर्गामान बम्जन घाइते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाडको भागमा आगोले जलाएको छ । घाइते बम्जनको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जनाउँदै तत्काल उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौ रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।

स्थानीय बासिन्दाले आगलागी भएको खबर प्रहरीलाई दिएलगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार भान्सामा प्रयोग गरिने ज्वलनशील पदार्थ (मट्टितेल वा पेट्रोल) असावधानीपूर्ण प्रयोगका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । ‘साँघुरो भान्सा कोठा र त्यहाँ रहेको ज्वलनशील सामग्रीले आगो फैलिन सहयोग गरेको देखिन्छ’, प्रहरी प्रमुख सुवेदीले जानकारी दिए ।

प्रहरीले यस्ता ज्वलनशील पदार्थ प्रयोग गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । भान्सा कोठामा मट्टितेल, पेट्रोलजस्ता पदार्थ प्रयोग गर्दा सानो लापरबाहीले पनि ठूलो मानवीय क्षति हुन सक्ने भन्दै सावधानी आवश्यक रहेको प्रहरीको भनाइ छ ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको र अनुसन्धानको निष्कर्षपछि आगलागीको कारण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


34 Views

Comments