टर्की भूकम्प: ज्यान गुमाउनेको संख्या २८ हजार नाघ्यो

Bhugolpark

२९ माघ, २०७९,१०:५६

भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एक जना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको छ। भूकम्प आएको १२८ घण्टापछि हटाईमा एक १३ वर्षे बालकको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ।

भूगोल पार्क परिवार महाविनासकारी भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको दुखद समाचार लिएर आएका छौं।नेपाल सरकारले बेलैमा ध्यान नदिएको खण्डमा महाविनासकारी भूकम्पका कारण टर्की र सिरियाको जस्तै नीयती नेपालले पनि भोग्न पर्नेदेखिन्छ।

उद्धारकर्मीहरूका अनुसार टर्कीमा २४ हजार तथा सिरियामा ४ भन्दा बढीले ज्यान गुमाएका छन्। 

टर्कीमा विनाशकारी भूकम्प गएको ७ दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ। भूकम्पमा परी १ लाख भन्दा बढी मानिस घाइते भएका छन्।

राष्ट्रसंघका विशेषज्ञले टर्की–सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या यसको दोब्बर हुन सक्ने बताएका छन्। टर्कीको अदनामा स्काई न्युजसँगको कुराकानीमा राष्ट्रसंघका आपत्कालीन प्रतिकार्य संयोजक मार्टिन ग्रिफिथले भूकम्पमा मर्नेहरूको संख्या अहिलेकोभन्दा दोब्बर पुग्न सक्ने बताएका हुन् । 

अर्दा क्यान ओभुलाई दक्षिणी टर्कीमा एउटा भत्किएको घरबाट बाहिर निकालेर अस्पताल लगिएको छ।

उद्धारकर्मीहरू भूकम्पपछिका प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् । 

दुवै भूकम्पमा परि टर्की र सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

जर्मन विपद् प्रतिकार्य संस्थाले भग्नावशेषमा च्यापिएकी एक जना बालिकालाई ११० घण्टापछि जीवितै उद्धार गरेको भिडिओ सार्वजनिक गरेको छ।

टर्कीमा गत सोमवार बिहानै ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो। अपराह्न पुन ७.५ म्याग्निच्युडको दोस्रो भूकम्पले थप क्षति पुर्‍याएको थियो।

पहिलो र सबैभन्दा शक्तिशाली भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा शनिबार अबेरसम्म पनि परकम्पहरू आइरहेका छन्।

मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुखले एक सय वर्षपछि यति शक्तिशाली भूकम्प यस क्षेत्रमा भएको बताएका छन्। टर्कीको कहरामनमारस प्रान्तमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले खोज तथा उद्धारमा टर्कीएले गरेका प्रयासको सराहना गरेका छन्। 

उनले सिरियामा पनि सहायता सामग्री परिचान गरिने जनाए पनि सरकार नियन्त्रित र विद्रोहीको पकड भएका सिरियाली भूमिमा कसरी राहत सामग्री आपूर्ति गर्नेभन्नेमा स्पष्ट भएको छैन ।

मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ। टर्की र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् ।

टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ। जर्मनीका सहायताकर्मी तथा चिकित्सकाले टर्कीको हताएमा असुरक्षाका कारण सेवा स्थगन गरेका छन् भने सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको चिकित्सकहरूले बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनका प्रमुख सिरियाको एलोप्पो पुगेर सिरियाली स्वास्थ्यमन्त्रीका साथ त्यहाँका अस्पतालको निरीक्षण गरेका छन्।



489 Views

Comments