२७ फागुन,काठमाडौँ — रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि शनिबार दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ ।
एकीकृत नेकपा समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको एमाले निकट विद्यार्थी नेताहरूको आरोप छ ।
झडपपछि क्याम्पस बाहिर ठूलो संख्यामा प्रहरी प्ररिचालन गरिएको छ । आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । झडपपछि प्रदर्शनीमार्ग क्षेत्रमा यातायात आजजाउमा रोक लगाइएको छ ।
विद्यार्थीहरु क्याम्पस बाहिर भेला भएका छन् भने भित्र क्याम्पस प्रमुख, निर्वाचन समिति र विद्यार्थी प्रतिनिधिबीच वार्ता भइरहेको छ । नेविसंघका इकाई सभापति सञ्जिव ढकालले फर्जी विद्यार्थीको विषयमा विवाद हुँदा झडप भएको जनाए ।
क्याम्पस प्रशासनले विद्यार्थी संगठनको दवाव र प्रभावमा निर्वाचन निर्देशिका विपरीत विद्यार्थी भर्ना गरेको आरोप लगाएका छन् । मतदाता नामवली प्रकाशनअघि नै फर्जी विद्यार्थीको विषयमा छानबिन गर्न समिति बनेको थियो ।
समितिको प्रतिवेदन सार्वजनिक नगरी मतदाता कायम गरेर निर्वाचन प्रक्रिया अघि बढाएपछि विवाद बढेको थियो । विवादका कारण नेविसंघ, अखिल क्रान्तिकारी लगायत सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन् ।
शनिबार देशभरका क्याम्पसमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । त्यसका लागि काठमाडौं उपत्यका २२ आंगिक क्याम्पसमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आरआर क्याम्पसमा भने शनिबार झडप भएपछि क्याम्पस प्रशासनले मनोनयन दर्ताका लागि आइतबारसम्मको समय थपेको छ ।
Comments