याङ्गुन, २० वैशाख (रासस/एएफपी) ।
म्यान्माको सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आममाफी दिएको छ । दुईवर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्रा गरेको थियो । सैनिक सरकारको विरोध गरेका ती बन्दीमध्ये केही रिहा हुन लागेका हुन् । आगामी शुक्रबार बुद्धपूर्णिमाको अवसरमा बन्दीलाई रिहा गरिनेछ ।
अधिकतम तीन वर्ष जेलसजाय भोगेकाहरूमध्येबाट ती बन्दी रिहा हुन लागेका हुन् । सैनिक सरकारको विरोध गरेको हजारौँलाई कारगारमा कोचिएको छ । सामान्यतया राष्ट्रिय पर्वका बेला म्यान्माले आममाफी घोषणा गर्दै आएको छ । चीनका विदेशमन्त्री छन गङको भ्रमणपछि आममाफीको घोषणा भएको हो । मङ्लबार उहाँले सैनिक सरकारका वरिष्ठ अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।
चीनले म्यान्माको सार्वभौमसत्ताको सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै शान्ति र मेलमिलापका निम्ति सहयोग गर्न बेइजिङ सधैँ तत्पर रहने बताउँदै आएको छ । म्यान्मामा चीनको सहयोगमा विकास–निर्माणका धेरै पूर्वाधार परियोजना सञ्चालित छन् ।
Comments