जेष्ठ ९,जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएको डेढ महिनापछि आज नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सहित सरकार विस्तार गरिएको हो ।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कृष्ण यादव र वीरेन्द्रप्रसाद सिहं तथा एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने सरकारमा नयाँ जिम्मेवारीसहित सहभागी हुनुभयो । कांग्रेसका यादव भौतिक पूर्वाधार तथा विकास, सिंह स्वास्थ्य तथा जनसङ्ख्या र समाजवादीका न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आज मधेश भवनमा आयोजित एक विशेष समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष तीनै जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभयो । केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै गत चैत २१ गते नेकपा (एमाले) मधेश प्रदेश सरकारबाट बाहिरिएको थियो । मधेस–प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जनाले मुख्यमन्त्री यादवसमक्ष सामूहिक राजीनामा दिनुभएको थियो । एक मन्त्री पाउने सहमति भए पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी भएको छैन ।
मन्त्रीहरुको शपथ ग्रहणपश्चात् बाहिरिनेक्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा मुख्यमन्त्री यादवले माओवादी केन्द्र, लोसपा र जनमत पार्टीको असन्तुष्टि तथा माओवादी केन्द्रले मन्त्री फिर्ता बोलाएको विषयमा कुनै जानकारी नभएको बताए । उनले सत्ता साझेदार दलहरुबीचको सम्पूर्ण समस्या एक साताभित्र समाधान हुने दाबी गरेका थिए ।
Comments