असार २४,मोरङ । कोशी प्रदेशमा जीवन आचार्यसहित ३ जनाले मन्त्री आइतबार नियुक्त भइ पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले आचार्यसँगै माओवादीका राजेन्द्र कार्की र कांग्रेसका रामकुमार खत्रीलाई शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री उद्धव थापाले आचार्यसहित तीन जनालाई मन्त्री नियुक्त गरेर पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी ६ सदस्यीय बनाएका हुन् ।
उनले मोरङका आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरेका छन् भने माओवादीबाट संखुवासभाका राजेन्द्र कार्की र कांग्रेसबाट नेता शेखर कोइराला निकट उदयपुरका रामकुमार खत्रीलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री आचार्य दोस्रोपटक मन्त्री भएका हुन् ।
सभामुख बाबुराम गौतमको समर्थनमा बहुमत पुर्याएर बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार कांग्रेसबाट पार्टी सभापति शेरबहादुर देउवानिकट ओखलढुंगाका प्रदिपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी)बाट पाँचथरका कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेर सपथ लिएका थिए ।
Comments