कबड्डी टिमको बिदाई

Bhugolpark

१ भाद्र, २०८०,१९:२४

भदौ १,काठमाडौ । चीनको हाङचाउमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कबड्डी महिला टिमले भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएका छन् । यसक्रममा टिमले सात अभ्यास खेल पनि खेल्ने छन् । प्रशिक्षण त्यहाँको गुरुकुल एकेडेमीमा सञ्चालन हुनेछ ।

नेपाल ओलम्फक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार आयोजित विशेष कार्यक्रम गरी टिमलाई बिदाइ गरे । हाङचाउ एसियाली खेलकुदमा नेपालले कबड्डीको महिला विधामा आफ्नो चुनौती पेस गर्नेछ । विदाई समारोहमा अध्यक्ष श्रेष्ठले यस विशेष प्रशिक्षणले नेपाली टिमको तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली टिममा सहभागी खेलाडीमा कप्तान मेनुकाकुमारी राजवंशी छिन् भने अन्य खेलाडीहरू मनमति विष्ट, अन्जुकुलुङ राई, नीतु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बदु, अर्पण चौधरी, गंगा घिमिरे, इशा राई र कलावती पन्त रहेका छन् । यस्तै टिमको मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा विष्णुदत्त भट्ट र व्यवस्थापकमा कृष्णदेवी पन्त छन् ।

नेपाली कबड्डी महिला टिम भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुन जानुहुने सम्पूर्ण टिमलाई भूगोल पार्कको तर्फबाट प्रशिक्षण उत्कृष्ट गर्न सकुन र चीनको हाङचाउमा हुने १९ औं एसियाली खेलकुदमा पदक जित्न सफलता मिलोस भनी शुभकामना व्यक्त गर्दछौँ ।



353 Views

Comments