विदेश जाने मनोवृत्तिलाई परिवर्तन गर्नुपर्छ, देशभित्रै सम्भव छ : प्रचण्ड

Bhugolpark

३० श्रावण, २०८२,११:०२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवा जागरुक हुन थालेको बताएका छन् । शुक्रबार (साउन ३०) भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


उनले आफू देशका विभिन्न स्थानमा जाँदा हाल धेरै ठाउँमा मानिस आफ्नै देशमा रोजगारी सिर्जना गर्ने अभियानतर्फ लागेको पाएको उल्लेख गरे । उनीहरूलाई प्रोत्साहन गर्न जरुरी रहेकामा उनले जोड दिए ।


“अहिले देशका विभिन्न भागमा जाँदा धेरै ठाउँमा आजभोलि युवाहरू र जनताको पनि नागरिकको एउटा ठूलो हिस्सा बिस्तारैबिस्तारै आफ्नै देशमा रोजगारी सृष्टि गर्नेतर्फ विभिन्न रूपले गतिविधि अघि बढाउन पहल गर्नुभएको छ । त्यसलाई हामी सबैले प्रोत्साहित गर्नुपर्नेछ,” उनले भने ।


विदेश जाने मनोवृत्तिलाई विस्तारै परिवर्तन गर्नुपर्ने उनले बताए । देशभित्रै सम्भावना र सम्भव रहेको उनको भनाइ थियो । “विदेश जाने मनोवृत्तिलाई बिस्तारै परिवर्तन गर्नुपर्छ । देशभित्रै सम्भव छ, देशभित्रै सम्भावना छ,” उनले भने, “हामीकहाँ प्रचुर प्रकृति र इतिहासले, संस्कृति र जाति, भाषाले धेरै चिज हामीलाई दिएको छ । संसारको अरू देशमा त्यो भेटिँदैन ।”


आफ्नो देश, इतिहास, संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास आजको ठूलो चुनौती रहेको उनले औँल्याए । “हामीले सकारात्मक सोच राख्नुपर्छ । रचनात्मक ढंगले कामहरू अघि बढाउनुपर्छ,” उनले भने ।

अध्यक्ष प्रचण्डले पर्यटन विकासका निम्ति के गर्न सकिन्छ भन्ने योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए । 


17 Views

Comments