हिजो भाद्र शुक्ल तृतीयाको तीज नेपालभर विशेष रूपमा मनाइयो। यस वर्ष मैले पहिलो पटक पशुपति क्षेत्रमा गएर यो पर्वको ऊर्जा नजिकबाट महसुस गर्ने अवसर पाएँ। बिहानैदेखि महिलाहरूको लहर देखेर, रातो पहिरनमा सजिएका, गीतमा तन्मय भएर नाचिरहेका महिलाहरूलाई देख्दा स्तब्ध भएँ। विशेष कुरा के भने ती सबै महिलाहरू दिनभर व्रत बसेर पानी र खाना नखाई निरन्तर नाचिरहेका थिए।
म आफैं दुई घण्टा घाममा उभिँदा टाउको दुखाइ भयो, तर उनीहरूको मुस्कान, तालमा गुञ्जिएको नृत्य र आपसी आत्मीयताले मलाई साँच्चै प्रभावित बनायो। मैले महसुस गरेँ शायद भोक र तिर्खा भुल्न पनि उनीहरूले नृत्यलाई आत्मसात गरेका छन्। समूहमा बसेर, दिदीबहिनीबीच रमाइलो गरेर, आफ्नो वियोग र पीडा क्षणभर भए पनि भुल्न सक्ने अवसर तीजले दिने रहेछ।
परम्परागत रूपमा तीज केवल पूजा वा व्रत मात्र नभएर, महिलाले माइत गएको बेला आफ्ना पीडा पोख्ने, बहिनीहरूबीच सान्त्वना पाउने, अनि नाचगानमार्फत जीवनको बोझ हल्का पार्ने पर्व पनि रहिआएको रहेछ। आज त्यो परम्पराले नयाँ स्वरूप पाएको छ एकातिर धार्मिक आस्था, अर्कोतिर रमाइलो र उत्सव।
हामीले धेरै महिलासँग व्रतबारे धारणा पनि सुन्ने प्रयास गर्यौँ। धेरैले यसलाई व्यक्तिगत रोजाइ भने। कतिका लागि यो धार्मिक कर्तव्य थियो भने कतिका लागि मात्र परम्परा। तर “दार खाने” नाममा एक महिना अगाडिदेखि भइरहेका अत्यधिक भोज, पार्टी र खर्चबारे धेरैले आपत्ति जनाए। कतिले यसलाई अनावश्यक बोझ भने, विशेषगरी आर्थिक रूपमा कमजोर परिवारलाई गाह्रो पर्ने कुरा उल्लेख गरे।
यी सबै कुरा मैले एक गैर-बरतालुको दृष्टिले अनुभव गरें। तर अर्कोतर्फ, व्रत बसेर प्रत्यक्ष अनुभव गर्ने महिलाहरूको कथा पनि त्यत्तिकै गहिरो छ।
हिजो भाद्र शुक्ल तृतीयाको तीज विशेष रूपमा मनाइयो। बिहान सबेरै उठेर स्नान गरियो, राति खाएको दरको मिठास सम्झँदै व्रत बस्ने दृढ संकल्पसहित दिन सुरु भयो। उपवास कठिन त थियो, तर श्रद्धा र विश्वासले शरीरभन्दा मन बलियो बनाइरहेको थियो। देवी पार्वतीको नाम स्मरण गर्दै, नजिकैको शिवालय पुगेपछि सयौँ दिदीबहिनीहरू एकै ठाउँमा भेला भएर पूजा अर्चना गरिरहेका देख्दा हर्षले मन भरियो। शिव–पार्वतीलाई फूल, अक्षता चढाएर परिवारको सुख–शान्ति, श्रीमानको दीर्घायु र सन्तानको उज्ज्वल भविष्यको कामना गरियो।
त्यसपछि रमाइलो तीज गीत र नृत्य सुरु भयो। ढोलक, मादल र लोकधुनमा सबै दिदीबहिनीहरू झुमिरहेका थिए। कसैले मायाको गीत गाइरहेका थिए, कसैले आफ्नो पीडा पोखिरहेका थिए, तर सबैको अनुहारमा एउटै उत्साह र ऊर्जा थियो। उपवासले शरीर थाक्ला जस्तो लाग्थ्यो, तर नाचगानले त्यो सबै भुलाइदियो। साँझतिर घर फर्किँदा मनमा शान्ति थियो, तीज केवल व्रत र पूजा मात्र होइन, भेटघाट, दुख–सुख बाँड्ने, संस्कार र परम्परा जोगाउने माध्यम पनि रहेछ भन्ने अनुभूति भयो। बरतालु भएको गर्व, संस्कृतिसँगको नाता, अनि परिवारप्रतिको समर्पण यी सबैलाई हिजोको तीजले झन् गाढा बनाइदियो।
समग्रमा भन्नुपर्दा, यस वर्षको तीज नेपालभर हर्षोल्लासका साथ मनाइयो। धर्म र परम्परासँगै यसले आधुनिक स्वरूप पनि लिएको छ। कतिका लागि तीज अझै धार्मिक आस्थाको पर्व हो भने धेरैका लागि यो मन बहलाउने, भेटघाट गर्ने र रमाउने अवसर बनेको छ। मेरो अनुभवले, तीज केवल संस्कार मात्र नभई, महिलाको आत्मबल, सहनशीलता र सामाजिक ऊर्जा को पर्व पनि रहेछ। तर यससँगै देखिने विकृति नियन्त्रण गर्दै यसको मौलिक सार सुरक्षित राख्नुपर्छ भन्ने कुरा पनि आवश्यक छ।
Comments