सेयर बजारमा म्युचुअल फन्डको लगानी ५३ अर्ब नाघ्यो, यी हुन् रोजाइका कम्पनी

Bhugolpark

१२ भाद्र, २०८२,१०:२३

१३ भदौ, काठमाडौं । म्युचुअल फन्ड योजना व्यवस्थापकले सेयर कारोबारबाट नाफा कमाएर यतिबोला आफ्ना इकाइधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । उनीहरूले दिएको लाभांश २१ प्रतिशतसम्म छ ।


म्युचुअल फन्डले आफ्नो करिब ८० प्रतिशत लगानी सूचीकृत कम्पनीका सेयरमा गरेका हुन्छन् । सेयर कारोबारबाट गरेको नाफा उनीहरुले बर्सेनि आफ्ना इधाइधनीलाई लाभांशस्वरुप दिएका हुन्छन् । हाल बजारमा ३९ वटा बन्दमुखी योजना सूचीकृत छन् । अरु १० वटा खुलामुखीसहित कुल ४९ वटा फन्डका योजना सञ्चालनमा छन् । म्युचुअल फन्डका योजना थपिँदै गर्दा उनीहरुको कुल सम्पत्ति तथा सेयरमा लगानी पनि बढ्दै गएको छ ।


साउन मसान्तसम्म यी म्युचुअल फन्डको कुल सम्पत्ति मूल्य ६९ अर्ब ८५ करोड रुपैयाँ बराबर छ । सोमध्ये सेयर बजारमा ५३ अर्ब १२ करोड रुपैयाँ लगानी छ भने ५ अर्ब १८ करोड मुद्दती निक्षेपमा र ११ अर्ब ५५ करोड रुपैयाँ नगदमा छन् । बाँकी अन्य उपकरणमा लगानी गरेका छन् । एक वर्षमा म्युचुअल फन्डको कुल आकार करिब ९ अर्ब रुपैयाँ बढेको छ । गत वर्षको साउन मसान्तसम्म यी फन्डको कुल सम्पत्ति मूल्य ६१ अर्ब रुपैयाँ थियो ।


म्युचुअल फन्डले गरेको सेयर लगानी अधिकांश वाणिज्य बैंक समूहमा छ । कुल सेयर लगानीमध्ये साउन मसान्तसम्म ३३.१४ प्रतिशत वाणिज्य बैंकमा, १२.३३ प्रतिशत विकास बैंकमा, १२.६१ प्रतिशत जलविद्युत् कम्पनीमा लगानी छ । त्यस्तै ११.६० प्रतिशत जीवन बीमामा, ११.३२ प्रतिशत निर्जीवन बीमामा तथा माइक्रोफाइनान्समा ८.७५ प्रतिशत लगानी गरेका छन् । बाँकी १०.२५ प्रतिशत लगानी, व्यापार, अन्य, म्युचुअल फन्डकै इकाइ , उत्पादन तथा प्रशोधन, होटल, फाइनान्स समूहमा छ । म्युचुअल फन्ड ठूला संस्थागत लगानीकर्ता हुन् । कम्पनीका बारेमा धेरै विश्लेषण, अध्ययन गरेर मात्रै म्युचुअल फन्डले खरिद तथा बिक्रीका लागि सेयर छनोट गर्छन् ।


म्युचुअल फन्डको रकम सेयरमा लगानी गर्नका लागि प्राविधिक विश्लेषकसहितको रिसर्च टिम राखिएको हुन्छ । प्राविधिक विश्लेषणसहित कम्पनीको वित्तीय स्थिति राम्ररी अध्ययन गरेर टिमले लगानीका लागि सिफारिस गर्छन् । सिफारिस भएका कम्पनीबाटै लगानीको निर्णय हुने गरेको मुक्तिनाथ क्यापिटलका सीईओ कविन्द्र ध्वज जोशीले बताए । ‘मूल्य बढ्ने कम्पनी (क्यापिटल गेन) मात्रै नहेरी राम्रो लाभांश दिन सक्ने (डिभिडेन्ट क्यापासिटी) कम्पनी छनोटमा पर्दछन्, लाभांश दिने कम्पनी केही वर्ष नै होल्ड हुन सक्छन्’ उनले भने ।


विश्लेषणका क्रममा प्राविधिकभन्दा पनि आधारभुत विषयलाई प्राथमिकता दिइने गरेको उनले बताए । केही कम्पनीका सेयर भने म्युचुअल फन्डले पनि कारोबारकै लागि किन्ने गर्छन् । ‘छोटो अवधिको कारोबारका लागि छुट्याइने फन्ड तुलनात्मक रुपमा कम नै हुन्छ’ उनले भने । अध्ययन र अनुसन्धान गरेर नै म्युचुअल फन्डले सेयर छनोट गर्ने भएकाले आजकाल धेरै व्यक्तिले पछ्याउने गर्दछन् । म्युचुअल फन्डले हरेक महिना सार्वजनिक गर्ने अपरिस्कृत वित्तीय विवरणमा कुन कुन कम्पनीका सेयरमा कति लगानी भएको छ भन्ने स्पष्ट पारेका हुन्छन् ।


‘म्युचुअल फन्डले कुनै कम्पनीमा गरेको प्रतिकित्ता औसत लागतभन्दा बजार मूल्य तल आएको अवस्थामा त्यस्ता कम्पनी खरिदका लागि उपयुक्त हुन सक्छन्’

उनीहरुले लगानीका लागि छनोट गरेका कम्पनी हेरेर व्यक्तिले पनि लगानीको निर्णय गर्ने गर्छन् । म्युचुअल फन्डका आफ्नै रणनीति हुने भएकाले व्यक्तिले पछ्याउँदा धेरै विषयमा ध्यान दिनुपर्ने जोशी बताउँछन्।


‘हामीले घटेका बेला थप सेयर किनेर मूल्यमा एभरेजिङ गर्छौं, तर व्यक्तिले घट्दै जाँदा एभरेजिङ गरिरहन नसक्ने अवस्था हुन सक्छ, वा डराएर नोक्सानीमै बेच्न सक्छन्’ उनले भने ‘त्यसैले म्युचुअल फन्डको छनोट भन्दैमा व्यक्तिका लागि उपयुक्त नहुन पनि सक्छ ।’ केही कम्पनी १०/१२ प्रतिशत घट्दा नै एभरेजिङ उपयुक्त हुन सक्ने कतिपय कम्पनी २०/२५ प्रतिशत घट्दा पनि एभरेजिङ उपयुक्त नहुन सक्छ । ‘बजार बढेर घट्न थाल्दै गर्दा २/३ प्रतिशत मात्रै मूल्य कम हुँदा एभरेजिङ गरिहाल्नु उपयुक्त हुँदैन’ उनले भने । व्यक्तिलाई आवश्यकता भएको खण्डमा भएको सेयर नै बेच्नुपर्ने हुन सक्छ, तर म्युचुअल फन्डलाई त्यस्तो परिस्थिति हुँदैन ।


सेयर लगानीकर्ता सुवासचन्द्र ढुंगाना आफूले पनि म्युचुअल फन्डको लगानी पछ्याउने र सोअनुसार रणनीति बनाउने गरेको बताउँछन् । ‘म्युचुअल फन्डले कुनै कम्पनीमा गरेको प्रतिकित्ता औसत लागतभन्दा बजार मूल्य तल आएको अवस्थामा त्यस्ता कम्पनी खरिदका लागि उपयुक्त हुन सक्छन्’ उनले भने ‘म्युचुअल फन्डको लगानी मात्रै भन्दा पनि उनीहरुको एभरेजिङ लागत पनि महत्वपूर्ण छ ।’


म्युचुअल फन्डले कम्पनीका आधारभुत पक्षलाई बढी जोड दिने भएकाले त्यस्ता कम्पनी बजार बढ्दा पनि कम बढ्ने गर्छन् । त्यसैले व्यक्तिले आफ्नो चाहनाअनुसार लगानीको रणनीति लिनुपर्ने जानकार बताउँछन् । फन्डामेन्टल बलियो भएका लार्ज क्याप कम्पनी छनोट गरेर किन्ने तर बजार बढ्दा त्यो कम्पनीको मूल्य वृद्धि अरु लो क्याप कम्पनीसँग तुलना गर्नु उपयुक्त नहुने ढुंगाना बताउँछन् ।


‘यदि मूल्यवृद्धिकै लाभ लिने र कारोबार गर्ने मानसिकता हो भने फन्डामेन्टल मजबुती मात्रै उपयुक्त नहुन सक्छ’ उनले भने ‘लामो अवधि होल्ड गर्ने, कम जोखिम र कम प्रतिफलका लागि त्यस्ता कम्पनी उपयुक्त हुन सक्छन् ।’ बजार बढ्दै जाँदा वित्तीय विवरण जतिसुकै खराब आए पनि कम्पनीको मूल्य पनि बढ्ने गरेको पाइन्छ । बजार नै घटेका बेला आधारभूत रुपमा राम्रा भनिएका कम्पनी पनि घट्न जान्छन् ।


‘सेयर खरिद गरेपछि कति समयसम्म होल्ड गर्ने, कतिसम्म नोक्सानी ब्यहोर्ने वा एभरेजिङ गर्न सक्ने रकम सबै हिसावले व्यक्ति तयार हुनुपर्छ’ जोशीले भने ‘तर व्यक्तिजस्तो म्युचुअल फन्डलाई असहज हुँदैन, लामो अवधिका लागि सञ्चालन हुन्छन्, फन्डको आकार ठूलो हुन्छ ।’ म्युचुअल फन्डले मूल्य घटे पनि केही वर्ष नै होल्ड गर्न सक्ने क्षमतामा हुन्छन् तर व्यक्तिले होल्ड गर्न नसक्ने हो भने नोक्सानी नै ब्यहोर्नु पर्ने हुन सक्ने जोशी बताउँछन् । ‘कर्जा लिएर सेयर किनेको हो भने बजार घट्दा व्यक्तिमा डर झन् बढ्न सक्छ र नोक्सानीमै आत्तिएर पनि बेच्न सक्छन्, अर्कोतर्फ म्युचुअल फन्डले धेरै घटेपछि एभरेजिङ गर्छन्’ उनले भने ।


सेयर बजारमा कारोबार गर्न नजान्नेलाई म्युचुअल फन्डमै लगानी उपयुक्त हुन्छन् । म्युचुअल फन्डले दैनिक रुपमा सेयर कारोबार गरिरहेका हुन्छन् । सेयर मूल्य बढेका बेला नाफा लिएर बेच्ने र घटेका बेला खरिद गर्छन् । आएको नाफाबाट सञ्चालन खर्च कटाएर इकाइधनीलाई लाभांश पनि दिन्छन् । सेयरको मूल्य बढ्दै जाँदा म्युचुअल फन्डको खुद सम्पत्ति मूल्य (न्याभ) पनि बढ्दै जान्छ । यहीं न्याभ बढ्दै जाँदा म्युचुअल फन्डको मूल्य पनि बढ्दै जान्छ । खुलामुखी फन्ड योजना न्याभमै कारोबार हुन्छ भने बन्दमुखी योजनाको बजार मूल्यमा कारोबार हुन्छ ।


खुलामुखी योजना बजारमा कारोबार नभए पनि तोकिएका एजेन्ट (बैंक तथा वित्तीय संस्था शाखा)मार्फत किनबेच गर्न सकिन्छ । यस्ता योजना एसआईपी (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) अन्तर्गत मासिक वा त्रैमासिक रुपमा निश्चित रकम भुक्तानी गरी खरिद गर्न सकिन्छ । त्यस्तै बन्दमुखी योजनाको निश्चित समयावधि तोकिएको हुन्छ । सो समयावधि सकिएपछि स्वतः रकम फिर्ता हुन्छ । फन्डले लगानी भएको सबै सेयर बिक्री गर्ने, मुद्दती निक्षेप तथा नगद हिसाव गरी इकाइधनीलाई रकम फिर्ता गर्दछन् ।

 


24 Views

Comments