१६ भदौ, काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ । यो भूकम्प भारतीय समयअनुसार राति १२:४७ बजे जलालाबाद नजिक गएको हो । एनबीसी न्यूजले भूकम्पबाट २५० जनाको मृत्यु र ५०० जनाभन्दा बढी घाइते भएको जनाएको छ।
न्यूयोर्क टाइम्सले पनि सय भन्दा बढीको मृत्यु भएको र मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको जनाएको छ । नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको केन्द्र जमिनबाट १६० किलोमिटर तल थियो । यसको झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो ।पहिलो झट्कापछि लगातार परकम्पहरु आइरहेका थिए । ठूला परकम्पहरुमा ४.७, ४.३ र ५.० तीव्रता मापन भएको छ ।
२०२३ मा ४ हजार मानिस मारिएका थिए
यसअघि अफगानिस्तानमा ७ अक्टोबर २०२३ मा विनाशकारी भूकम्प गएको थियो । सो भूकम्पमा ४ हजार जनाको मृत्यु भएको सरकारको तथ्यांक थियो । संयुक्त राष्ट्रसंघले भने १ हजार ५०० जनाको मृत्यु पुष्टि गरेको थियो । गएराति फेरि राजधानी काबुलबाट सडकमार्ग हुँदै १०० माइल भन्दा कम दूरीमा रहेको जलालाबाद केन्द्र भएर भूकम्प गएको हो । सरकारी प्रवक्ता जबीहुल्लाह मुजाहिदले सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै भूकम्पले ‘पूर्वी प्रान्तहरूमा जनधनको क्षति पुर्याएको’ बताएका छन् । तर उनले मानवीय क्षतिको विवरण सार्वजनिक गरेका छैनन् ।
Comments