काठमाडौं । विद्यालय शिक्षा विधेयक सच्याउन माग गरेर निजी विद्यालय सञ्चालकले काठमाडौंमा स्कुल बससहितको र्याली निकालेका छन् । प्याब्सन, नेसनल प्याब्सन, हिसान, ओपन र एनएमएले संयुक्तरूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा र्याली निकालेका हुन् । यसअघि, उनीहरूले पाँचबुँदे माग राखेर आन्दोलन घोषणा गरेका थिए । विधेयकबाट निजी शैक्षिक संस्थासम्बन्धी ‘अव्यावहारिक र अन्यायपूर्ण प्रावधान’ हटाउनुपर्ने माग उनीहरूको छ ।
निजी विद्यालय सञ्चालकले विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री (पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, खाजा) उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने माग राखेका छन् । यस्तै, कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने प्रावधान पनि हटाइनुपर्ने माग उनीहरूको छ । नेसनल प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष सुवास न्यौपानेले २७ किलोमिटर रिङरोडमा स्कुल बस उतारेको बताए । “आज पूरै रिङरोडमा स्कुल बस निकालेर जाम गराएका छौँ,” उनले भने ।
तर, काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी दीपक गिरीले निजी विद्यालयको प्रदर्शनले सवारी आवागमनमा खासै असर नपरेको बताए । “निजी विद्यालय सञ्चालक सडकमा उत्रिसकेपछि अलिअलि असहज त भइहाल्छ । तर, सवारी आवागमन नै बन्द गर्नुपर्ने र डाइभर्सन गर्नुपर्ने अवस्था छैन । उहाँहरूले चक्रपथ घुम्ने भन्नुभएको छ,” एसपी गिरीले भने ।
Comments