काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रपति ट्रम्पमाथि देशको सट्टा आफ्नो फाइदा हेरेर भारतसँग सम्बन्ध बिगारेको आरोप लगाएका छन् ।
सोमबार एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा उनले ट्रम्पले आफ्नो पारिवारिक व्यापारका लागि पाकिस्तानसँग मिलेर भारतसँगको अमेरिकाको सम्बन्ध बिगारेको बताए ।
सुलिभानले ट्रम्पको यो निर्णयको असर पूरै देशले भोग्नुपर्ने बताए । उनले ट्रम्पले आफ्नो व्यक्तिगत लाभका लागि भारत र पाकिस्तानबीचको द्वन्द्व रोकेको पनि दाबी गरे । ट्रम्पको यो विदेश नीतिको पाटोलाई अहिलेसम्म नउठाइएको उनको भनाइ छ ।
अमेरिकाले सधैँ भारतसँग राम्रो सम्बन्ध राख्न चाहे पनि सुलिभानले ट्रम्पले अमेरिकाको विदेश नीतिबाट अलग हट्दै पाकिस्तान र त्यहाँका सेना प्रमुख आसिम मुनीरलाई खुसी पार्ने प्रयास गरिरहेको आरोप लगाए । भारतसँग राम्रो सम्बन्ध बनाउनुमा अमेरिकालाई नै फाइदा भएको उनको तर्क छ ।
युट्युब च्यानल मिडासटचु सँगको कुराकानीमा जेक सुलिभानले अमेरिकाले धेरै वर्षदेखि भारतसँग आफ्नो सम्बन्ध सुदृढ बनाउने प्रयास गरिरहेको बताए। उनले भारत विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक राष्ट्र भएको र अमेरिकाले त्यससँग प्रविधि, प्रतिभा, आर्थिक मामिला र अन्य धेरै मुद्दाहरूमा मिलेर काम गर्नुपर्ने बताए ।
उनले चीनका रणनीतिक खतराहरूसँग जुध्नका लागि पनि भारतसँगको साझेदारी आवश्यक रहेको बताए । सुलिभानले भारतसँगको सम्बन्ध समाप्त गर्ने ट्रम्पको कदम आफैँमा धेरै ठूलो रणनीतिक क्षति भएको भन्दै एक बलियो अमेरिका र भारत सम्बन्धले अमेरिकी हितको पूर्ति गर्ने दाबी गरे। उनले अब विश्वको कुनै पनि देश अमेरिकामाथि निर्भर रहन नसक्ने र यस स्थितिलाई हेर्ने बताए ।
ट्रम्प परिवारको पाकिस्तानी व्यापार
पाकिस्तानमा मार्च १४, २०२५ मा पाकिस्तान क्रिप्टो काउन्सिलको स्थापना भएको थियो । यसको उद्देश्य देशलाई दक्षिण एसियाको क्रिप्टो हब बनाउनु थियो ।
त्यसको एक महिनापछि अप्रिलमा पाकिस्तान क्रिप्टो काउन्सिलले ट्रम्प परिवारसँग सम्बन्धित कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलसँग एउटा सम्झौता गरेको थियो । वर्ल्ड लिबर्टी फाइनान्सियलमा ट्रम्प परिवार छोरा एरिक, ट्रम्प जुनियर र ज्वाइँ जेरेड कुशनरको ६० प्रतिशत हिस्सेदारी रहेको बताइएको छ ।
पाकिस्तानले वर्ल्ड लिबर्टी फाइनान्सियलसँग ब्लकचेन प्रविधि र क्रिप्टोलाई बढावा दिने सम्झौता गरेको थियो । कम्पनीले पाकिस्तानमा ब्लकचेन इनोभेसन, स्टेबलकोइन र वित्तीय व्यवस्थालाई द्रुत गतिमा लागू गर्न मद्दत गर्ने दाबी गरेको छ ।
पाकिस्तानजस्तो देशसँग सम्झौता हुनुको अर्थ करोडौँ मानिस भएको एक ठूलो बजारमा यो कम्पनीले प्रवेश पाउनु रहेको बताइएको छ ।
यो सम्झौतामा पाकिस्तानी प्रधानमन्त्री, सेना प्रमुख, उप प्रधानमन्त्री, सूचना मन्त्री, रक्षा मन्त्री र अर्थ मन्त्री सहभागी थिए । यता, कम्पनीका तर्फबाट संस्थापक ज्याकरी फोकम्यान र ज्याकरी विटकफ पनि उपस्थित थिए। ज्याकरी मध्य पूर्वमा ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकफका छोरा हुन् ।
पाकिस्तानी सम्झौता र ट्रम्पको सम्पत्ति
अमेरिकी सञ्चारमाध्यमका अनुसार पाकिस्तानले वल्र्ड लिबर्टी फाइनान्सियलसँग ब्लकचेन र क्रिप्टो अपनाउने सम्झौता गरेपछि यो कम्पनीलाई एक प्रकारको सरकारी मान्यता पनि प्राप्त भयो र यसबाट त्यसको टोकनको मुल्य तीव्र गतिमा बढेको छ ।
रिपोर्टहरूका अनुसार यो प्रक्षेपणपछि ट्रम्प परिवारको अरबौँ डलर सम्पत्ति बढेको छ। तर यो फाइदा पैसामा मात्र सीमित नभएर एक राजनीतिक पुँजी पनि हो। पाकिस्तानमा यस प्रकारको सम्झौता सिधै प्रधानमन्त्री र सेना प्रमुखको स्तरमा भयो। यसको अर्थ ट्रम्प र उनको परिवारको अब पाकिस्तानसँग केवल व्यापारिक मात्र नभई, कुटनीतिक स्तरमा पनि गहिरो सम्बन्ध हुनु पनि हो ।
यसले उनीहरूलाई अमेरिकाभित्र र बाहिर दुवै ठाउँमा राजनीतिक फाइदा पुर्याउँने बताइएको छ। विशेषगरी, चुनावमा उनीहरूले अमेरिकाका कम्पनीहरू र प्रविधिलाई नयाँ बजारमा र्पुयाएका छन् भनेर देखाउनका लागि यो महत्वपूर्ण हुने बताइएको छ ।
सम्झौतापछि ट्रम्पको दृष्टिकोणमा परिवर्तन
यो सम्झौतापछि ट्रम्पको भारतप्रतिको दृष्टिकोण बदलिएको बताइएको छ । पाकिस्तानी व्यापारमा ट्रम्प परिवारको यस सहभागिताका कारण सुलिभानसहित धेरै विज्ञहरू उक्त सम्झौताका कारण ट्रम्प भारतको सट्टा पाकिस्तानको पक्ष लिइरहेको बताउँछन्। अमेरिकाले पाकिस्तानमाथि केवल १९ प्रतिशत मात्रै कर लगाएको छ ।
Comments