मोदीले भने– नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ

Bhugolpark

२८ भाद्र, २०८२,१०:४२

२८ भदौ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । साथै उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

आफ्नो एक्स अकाउन्टमा मोदीले नेपाली लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ ।’ यसअघि भारतको विदेश मन्त्रालयले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा नयाँ सरकार गठनको स्वागत गरेको हो । कार्की नेतृत्वको अन्तरिम सरकारले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्ने भारतको विश्वास छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ ।’

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ । सरकारले गरेको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ र २४ गते गरेको प्रदर्शनमा जनधनको क्षति भएपछि नेपाली सेनाले सुरक्षा कमाण्ड हातमा लिएको थियो ।

साथै प्रधानसेनापति सिग्देलको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका छन् । हालको संसद विघटन समेत भएको छ र अब ताजा जनादेशका लागि आगामी फागुन २१ गते मध्यावधि निर्वाचन हुनेछ ।  




60 Views

Comments