संयुक्त राष्ट्रसंघ महासभाका केही रोचक दृश्यहरू : म्याक्रोन जाममा फसे, ट्रम्पलाई प्रविधिको धोका

Bhugolpark

८ आश्विन, २०८२,१०:५१

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरे। उनी भाषण दिन युएन हलतर्फ गइरहँदा एस्केलेटर अचानक बन्द भयो।

जब उनले भाषण सुरु गरे, टेलिप्रोम्प्टरले पनि काम गरेन । ट्रम्पले एकपछि अर्को समस्या व्यहोरिरहँदा रूसी कुटनीतिज्ञहरूले भने त्यही दृश्यलाई मोबाइलमा कैद गरिरहेका थिए । भाषणको सुरुवातमै टेलिप्रोम्प्टरले काम गर्न छाड्यो। यसबारे ट्रम्पले भने, ‘टेलिप्रोम्प्टर बिग्रियो भने के भयो? यसले त मनबाट बोल्ने मौका दिन्छ। तर जसले यसलाई चलाउँदै थियो, ऊचाहिँ अहिले समस्यामा छ ।’ मंगलबार युएन हलमा ट्रम्पको भाषणलाई रूसी कूटनीतिज्ञहरूले मोबाइलमार्फत भिडियो खिचिरहेका थिए।

भित्र भाषण चलिरहँदा बाहिर विरोध

जब ट्रम्प युएनमा भाषण गरिरहेका थिए, सोही समय युएन भवनबाहिर उनका नीतिहरूको विरोधमा प्रदर्शनहरू भइरहेका थिए। संयुक्त राष्ट्र महासभामा देखिएको अर्को रोचक प्रसंग हो ट्रम्पले समय मिचेको । नेताहरूलाई १५ मिनेट समय दिइन्छ, तर ट्रम्पले ५६ मिनेटसम्म बोलेर यो परम्परा तोडे। यो अमेरिकी राष्ट्रपतिबाट दिइएको अहिलेसम्मकै सबैभन्दा लामो भाषण थियो।

उनले भने, ‘विश्वभर भइरहेका ७ युद्धहरू रोक्ने जिम्मेवारी युएनको थियो, तर मैले ती सबै युद्धहरू रोकाएँ ।’

ट्रम्पले अवैध आप्रवासन, अमेरिका आर्थिक अवस्था, रूस–यूक्रेन युद्ध, इजरायल–हामास युद्ध, कार्बन फुटप्रिन्टजस्ता विषयहरूमा आफ्नो धारणा राखे।

उनी आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गरिरहेका थिए। ट्रम्पले अघिल्लोपटक अमेरिकी राष्ट्रपति हुँदा सन् २०२० मा युएनलाई सम्बोधन गरेका थिए।

भाषणपछि ट्रम्पले ‘ट्रुथ सोशल’ मा लेखे, ‘पोडियमतर्फ जाने एस्केलेटर अचानक रोकिएको थियो र भाषणको क्रममा टेलिप्रोम्प्टरले काम गरेन। यी प्राविधिक समस्याहरूले मेरो भाषण झनै रोचक बनायो। युएनको उपकरणहरू केही पुराना भइसकेका छन्।’ ट्रम्पले आफ्नो भाषण निकै सफल रहेको र जनताले यसलाई निकै मन पराएको पनि जिकिर गरे ।

मंगलबार युएनमा ट्रम्पको भाषणका क्रममा उनकी पत्नी मेलानिया पनि उपस्थित थिइन्। सँगै, ट्रम्पकी छोरी टिफनी पनि आफ्ना पिताको भाषण सुन्न युएन आइपुगेकी थिइन्।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले युएनमा ट्रम्पको भाषण सुनिरहेकी देखिइन् । सिरियाली राष्ट्रपति पनि ट्रम्पको भाषणको बेला युएन सभामा उपस्थित थिए। यो किन पनि रोचक दृश्य हो भने ५८ वर्षमा पहिलो पटक कुनै सिरियाली नेताले संयुकत् राष्ट्रसंघको महासभामा सहभागिता जनाएका हुन्।

ट्रम्पको कारण समस्यामा म्याक्रोन

अमेरिकी सुरक्षाकर्मीहरू ट्रम्पको सुरक्षा व्यवस्था अन्तर्गत प्रदर्शनकारीहरूमा निगरानी गरिरहेका थिए।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको गाडी सोमबार राति न्युयोर्कमा ट्रम्पको आगमनका कारण बाटोमै रोकियो । म्याक्रोन संयुक्त राष्ट्रसंघ महासभामा भाषण सकेर विश्राम गर्न फ्रान्सेली दूतावास जाँदै थिए ।

जब म्याक्रोनको गाडी रोकियो, उनले गाडीबाट ओर्लिएर प्रहरी अधिकारीलाई यसबारे प्रश्न गरे । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसपछि उनले ट्रम्पलाई फोन गरेर बाटो खाली गर्न भने ।

प्रहरी अधिकारीले म्याक्रोनलाई भने, ‘मिस्टर प्रेसिडेन्ट, माफ गर्नुहोस्, अहिले सबै ब्लक छ ।’ प्रहरीले ट्रम्पको सवारी भइरहेकोले यस्तो भएको स्पष्ट पारेको थियो । त्यसपछि म्याक्रोनले तुरुन्तै ट्रम्पलाई फोन गरेर हाँस्दै भने, ‘तपाईंलाई कस्तो छ? तपाईंलाई थाहा छ, म सडकमा अड्किएको छु, किनभने तपाईंका लागि सब बन्द छ । छिट्टै बाटो खाली गर्नुहोस् ।’

यो कुराकानी भइरहँदा ट्रम्पको सवारी अघि बढिसकेको थियो र सडक पैदल यात्रुहरूका लागि मात्र खुला भएको थियो । यद्यपि म्याक्रोन गाडीमा फर्किएनन्, उनले फोनमै ट्रम्पसँग कुरा गर्दै पैदलै अघि बढे ।

यसक्रममा म्याक्रोन करिब आधा घण्टा न्युयोर्कका सडकमा हिंडिरहे र ट्रम्पसँग फोनमा कुरा गरिरहे । यसबीच उनले बाटोमा भेटिएका मानिसहरूसँग फोटो खिचाए । एक व्यक्तिले त म्याक्रोनको निधारमा चुम्बन समेत गरे ।

शहरवासीका लागि यो अचम्मको दृश्य थियो, किनभने सामान्यतया कुनै पनि देशका राष्ट्रपति ठूलो सुरक्षा व्यवस्थासहित देखिने गर्छन् । यसअघि महासभाको बैठकमा फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दिने र शान्तिको बाटो बनाउनुपर्ने बताएका थिए । म्याक्रोनले यसलाई हमासको हारका रूपमा उल्लेख गरिरहँदा जोरदार ताली बजाइयो र प्यालेस्टाइनी प्रतिनिधिमण्डलले उठेर स्वागत गर्‍यो



20 Views

Comments