रुस–युक्रेन युद्धविराम वार्ताका लागि ट्रम्पले पुटिनलाई हंगेरीमा भेट्ने

Bhugolpark

१ कार्तिक, २०८२,०७:५२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ताका क्रममा ‘ठूलो प्रगति’ भएको बताएका छन् । उनले दुई नेताहरू हंगेरीमा आमने–सामने वार्ता गर्न सहमत भएका छन् । उनले अगस्टपछि पुटिनसँगको यो पहिलो फोनवार्ता ‘अति फलदायी’ रहेको बताएका छन् । वासिङ्टन तथा मस्कोका टोलीहरू अर्को हप्ता भेट्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले बुडापेस्टमा हुने पुटिनसँगको आफ्नो भेटको मिति भने पुष्टि गरेनन् । क्रेमलिनले भने ‘अत्यन्तै स्पष्ट र विश्वासपूर्ण’ फोन वार्तापछि शिखर सम्मेलनको तयारी तत्काल सुरु हुने बताएको छ । यो वार्ता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणको एक दिनअघि भएको थियो । हालैका दिनमा ट्रम्प युक्रेनलाई रुसको भित्री भागसम्म प्रहार गर्नसक्ने टमाहक मिसाइलहरू दिने तयारीमा थिए । 

अमेरिका आइपुग्दा जेलेन्स्कीले मस्कोले टमहक क्षेप्यास्त्रको बारेमा सुन्नेबित्तिकै संवाद पुनः सुरु गर्न हतार गरिरहेको बताए । वार्ता सकिएपछि आफ्नो सामाजिक संजालमा ट्रम्पले आफू र पुटिनले युक्रेनसँगको युद्ध समाप्त भएपछि रूस र संयुक्त राज्य अमेरिकाबीचको व्यापारबारे धेरै समय कुरा गरेको बताए ।

उनले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री मार्को रुबियोले गर्ने गरी अर्को हप्ता दुवै देशका उच्चस्तरीय सल्लाहकारहरू एक गोप्य स्थानमा भेट्ने बताए । ट्रम्पले शुक्रबार पुटिनसँगको आफ्नो वार्ताका बारेमा जेलेन्स्कीलाई जानकारी दिने बताए । ट्रम्पले पत्रकारहरूलाई पुटिनलाई दुई हप्ताभित्र भेट्ने अपेक्षा गरेको बताए ।

पुटिनसँगको फोनवार्तापछि युक्रेनलाई मिसाइल दिने सम्भावनाबारेको प्रश्नमा ट्रम्पले अमेरिकाको टमहक मिसाइलको भण्डारलाई घटाउन नसकिने बताए । उनले भने, “हामीलाई पनि तिनीहरूको आवश्यकता छ । त्यसैले हामी यसबारेमा के गर्न सक्छौँ, मलाई थाहा छैन ।” हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले सामासजक संजाल एक्समा प्रस्तावित बुडापेस्ट बैठकलाई विश्वका शान्तिप्रेमी मानिसहरूका लागि ठूलो खबर भनेका छन् ।

यसअघि उनले भनेका थिए, “शान्तिका लागि धैर्यता, बल र नम्रता चाहिन्छ । युरोपले आफ्नो अडान परिवर्तन गर्नुपर्छ । अहंकार र अन्तहीन युद्धको आगो झोस्नुको सट्टा हामीलाई रूससँग वार्ता चाहिन्छ । केवल संवादले मात्र हाम्रो महाद्वीपमा शान्ति ल्याउन सक्छ ।” अगस्टमा अलास्कामा भएको शिखर सम्मेलनले शान्ति सम्झौताको मध्यस्थता गर्ने प्रयासमा निर्णायक सफलता हासिल गर्न नसकेपछि युक्रेन युद्धलाई लिएर ट्रम्प पुटिनप्रति कठोर भएका थिए । 

 


15 Views

Comments