हेलो सरकार ! अस्पतालमा 'बेड' पाइएन, एक वर्षमा १६ हजार उजुरी

Bhugolpark

१७ पुष, २०८२,१०:५९

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा संविधान श्रेष्ठले आफ्नो बुबाको उपचारका लागि वीर अस्पतालको स्वास–प्रश्वास वार्डबाट ‘मेल सर्जिकल क्याबिन’ खालि हुँदा त्यहाँ सार्न अनुरोध गरेका थिए । 

अस्पतालको जिम्मेवार एक नर्सले मेल सर्जिकल क्याबिन खालि हुँदाहुँदै अनेक बहाना गरी अर्को भवनमा सार्न भनेपछि श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘हेलो सरकार’मा गुनासो टिपाए । त्यसपछि तत्काल हेलो सरकारले समन्वय गरी समस्या समाधान गरेको थियो । 

पहिला विदेश गएर फर्केकै देशमा जान सबै कागजातसहित निवेदन दिँदा पनि वैदेशिक रोजगार विभागले श्रम स्वीकृति नदिएपछि गतवर्ष एक व्यक्तिले ‘हेलो सरकार’मा गुनासो टिपाए । ‘हेलो सरकार’ले विभागसँग समन्वय गरेपछि ती व्यक्तिले श्रम स्वीकृति पाए । 

गतवर्ष नै २०८१/८२ मा जिल्ला प्रशासन कार्यालय ललितपुरको क्यान्टिनमा १५ रुपैयाँ पर्ने हुलाक टिकटलाई २५ रुपैयाँ लिएपछि एक व्यक्तिले ‘हेलो सरकार’मा गुनासो टिपाए । 

त्यसपछि हेलो सरकारको निर्देशनमा जिल्ला हुलाक कार्यालयमार्फत कार्यालय परिसरभित्र हुलाक टिकट काउन्टर सञ्चालन गरियो । 

ललितपुरको लुभु डाँडा थोक रोड स्थानीय किराना पसलामा हिमालयन बेभरेज प्रा.लि.ले बिक्री वितरण गरेको अक्वा सिमसिम नामक खानेपानीको जारमा किरा पाइएपछि ‘हेलो सरकार’मा गुनासो पुग्यो । 

त्यसपछि ‘हेलो सरकार’ले जिल्ला प्रशासन कार्यालय ललितपुरसँग समन्वय गरी सम्बन्धित कम्पनीलाई एक लाख रुपैयाँ जरिवाना गराइयो । पानीको नमुना परीक्षण गर्न खाद्य प्रविधि तथा गुणस्तर विभागमा पठाइएको थियो ।

कुमार खड्का नाम गरेका एक व्यक्तिले पनि गतवर्ष ‘होलो सरकार’मा गुनासो टिपाएका थिए । सेयर तथा सेक्युरिटी कारबोबार दुई दिनभित्र गरिसक्नुपर्ने व्यवस्था छ । तर, ब्रोकर नं. २१ ले कारोबार ८ दिनसम्म पनि अघि नबढाएको गुनासो खड्काको थियो ।

‘हेलो सरकार’ले धितोपत्र बोर्ड नेपालको समन्वयमा सम्साय तत्काल समाधान गरेको थियो । 

यी घटना ‘हेलो सरकार’मा आउने केही प्रतिनिधि गुनासा हुन् । यस्ता ठूलो संख्यामा गुनासा हेलो सरकारमा दैनिक आउँछन् । हेलो सरकारमा एक वर्षमा झण्डै १६ हजार गुनासा दर्ता भएको देखिन्छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको हेलो सरकारको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्ष २०८१/८२ मा १५ हजार ८६८ वटा गुनासो हेलो सरकारले प्राप्त गरेको उल्लेख छ । यमध्ये ८ हजार ६६२ वटा गुनासो फछ्र्यौट गरिएका छन् । 

वार्षिक प्रतिवेदनअनुसार, यसअघि हेलो सरकारमा आर्थिक वर्ष २०७८/७९ मा १० हजार ९२२ वटा, २०७९/८० मा ११ हजार ९३२ वटा र २०८०/८१ मा १६ हजार १३५ गुनासो दर्ता भएका थिए । 

तीमध्ये आर्थिक वर्ष २०७९/८९ मा ६ हजार १०८ वटा, २०७९/८० मा ५ हजार ८१२ वटा र २०८०/८१ मा ७ हजार ८१० वटा गुनासो फछ्र्यौट भएको दाबी हेलो सरकारले आफ्नो प्रतिवेदनमा गरेको छ । 

बढी गुनासो कोसँग सम्बन्धित छन् ? 

हेलो सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा प्राप्त गरेका १५ हजार ८६८ वटा गुनासोमध्ये सबैभन्दा बढी प्रहरी प्रधान कार्यालयसँग सम्बन्धित थिए । 

“सबैभन्दा बढी गुनासो प्रहरी प्रधान कार्यालयसँग सम्बन्धित २ हजार १७६ वटा गुनासो प्राप्त भएकामा १ हजार ४५१ वटा गुनासो समाधान भई फछ्यौट भएको छ,” हेलो सरकारको वार्षिक प्रतिवेदनमा भनिएको छ ।

दोस्रो ठूलो संख्यामा गुनासो गृह मन्त्रालय सम्बन्धित ६१९ वटा छन् । तीमध्ये ५०४ वटा फछ्र्यौट भएका छन् । 

अन्य धेरै गुनासा भएका निकायमा नेपाल विद्युत प्राधिकरणसँग सम्बन्धित ५८२ वटामध्ये ५०० वटा फछ्र्यौट, सूचना प्रविधि विभाग सम्बन्धित ५३६ वटामध्ये ५३५ फछ्र्यौट र सडक विभागसँग सम्बन्धित ४५९ वटा भएकामा ४५८ वटा फछ्यौट भएको छ । 

त्यस्तैगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका २१६ वटा गुनासो प्राप्त भएकामा ११५ वटा गुनासो सम्बोधन भई फछ्र्यौट भएको छ । 

काठमाडौं महानागरपालिकासँग सम्बन्धित २६८ मध्ये १६४ वटा, यातायात व्यवस्था विभागको १७४ मध्ये १७२ वटा, बैदेशीक रोजगार विभागको १०५ मध्ये ४६ वटा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको २८५ मध्ये ७३ वटा, सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्रलाय सम्बन्धित १६४ मध्ये ११४ वटा, राष्ट्रिय सतर्कता केन्द्रको १५४ मध्ये ४० वटा, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १०८ मध्ये १ वटा, नेपाल राष्ट्र बैङ्कको १८२ मध्ये १३० वटा, सशस्त्र प्रहरी बल नेपालको २०४ मध्ये २०३ वटा गुनासो फछ्यौट भएको देखिन्छ । 

“सशस्त्र प्रहरी बल नेपाल, सडक विभाग, नेपाल विद्युत प्राधिकरण, सूचना प्रविधि विभाग, लोक सेवा आयोग, राष्ट्रिय परिक्षा वोर्ड, शिक्षक सेवा आयोग, प्राविधिक शिक्षा तथा व्यवसायक तालिम परिषद्, नागरिक लगानी कोष र नेपाल धितोपत्र वोर्ड सम्बन्धित प्राप्त गुनासाहरू फर्छयौट दर गत वर्षझै यस वर्ष पनि उच्च रहेको छ,” प्रतिवेदनमा भनिएको छ । 

आर्थिक वर्ष २०८१/८२ मा प्राप्त गुनासा ५४.५९ प्रतिशत फछ्र्यौट गरिएको प्रतिवेदनमा उल्लेख छ । 

हेलो सरकारको विद्युतीय गुनासो व्यवस्थापन पोर्टल २०७६ साउन १ गतेबाट सञ्चालन भएदेखि २०८२ असार मसान्तसम्ममा कुल गुनासोको ६७ प्रतिशतभन्दा बढी फछ्र्यौैट भएका छन् । 

कस्ता छन् गुनासो ? 

हेलो सरकारले सार्वजनिक निकायबाट हुने सेवा प्रवाहसँग सम्बन्धित गुनासा समेट्न गुनासा वर्गीकरण गरी पोर्टलमा राख्न सकिने व्यवस्था गरेको छ । 

जसअनुसार, ११६ प्रकारमा गुनासो शीर्षक वर्गीकरण गरिएको र आवश्यकतानुसार थप वर्गीकरण गर्न सकिने व्यवस्था समेत छ । 

आर्थिक वर्ष २०८१/८२ मा पोर्टलमा दर्ता भई कारबाही भएका कुल गुनासोमध्ये वैकल्पिक फाराम (विविध) प्रकृतिको गुनासो सबैभन्दा बढी ७ हजार ८६५ वटा देखिन्छ । ती गुनासोमध्ये ३ हजार ८६० गुनासो फछ्यौट भएका छन् । 

गुनासोको प्रकृति अनुसार, सुझावसम्बन्धी गुनासो ५७१ वटा, वेबसाइटमा समस्यासम्बन्धी ४२७ वटा, सोधपुछसम्बन्धी ३५३ वटा, विद्युत समस्यासम्बन्धी ३३९ वटा, कर्मचारी सम्बन्धी ३१३ वटा छन् ।

त्यसरी नै स्थानीय तहसम्बन्धी २७० वटा, ठगी/ किर्ते/जालसाजी समस्यासम्बन्धी २५८ वटा विश्वविद्यालयसँग सम्बन्धित २२७ वटा, सडक पुलसँग सम्बन्धित २१६ वटा, बैङ्क/वित्तीय संस्था तथा सहकारीसँग सम्बन्धित २१८, घुस/रिसवत लेनदेन सम्बन्धी १८६ र खानेपानीसम्बन्धी १९१ वटा गुनासा देखिन्छ ।

स्थानीय तहमा सबैभन्दा बढी गुनासो काठमाडौं महानगरसँग 

हेलो सरकारले देशभरका सबै स्थानीय तहलाई आफ्नो गुनासो व्यवस्थापन विद्युतीय पोर्टलमा आवद्ध गरेको छ । 

आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहहरुसँग सम्बन्धित २ हजार ३२२ वटा गुनासो प्राप्त भएका थिए । तीमध्ये उक्त अवधिमा जम्मा ६५२ वटा गुनासो फछ्र्यौट भएको थियो । स्थानीय तहहरूमध्ये सबैभन्दा बढी काठमाडौं महानगरपालिकाको २६९ वटा गुनासो प्राप्त भएकोमा १७४ वटा गुनासो फछ्र्यौट भएको देखिन्छ । 

त्यस्तै पोखरा महानगरपालिकाको ८१ वटामध्ये ४२ वटा गुनासो फर्छ्यौट भएका थिए । ललितपुर महानगरपालिकाको ७४ वटा गुनासो प्राप्त भएकोमा ५ गुनासोमात्र फर्छ्यौट गरिएको थियो । 

महालक्ष्मी नगरपालिका ललितपुरको जम्मा ६२ गुनासोमध्ये २ वटा मात्र फछ्यौट गरिएको थियो भने भरतपुर महानगरपालिकाको ४५ वटा गुनासो सबै फर्छ्यौट भएका थिए । 

सिद्धार्थनगर नगरपालिकाको ४४ वटा गुनासोमध्ये ४१ वटा फछ्यौट भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको ४२ वटा गुनासो प्राप्त भएकोमा ३ वटा गुनासो फछ्यौट भएको देखिन्छ । वीरगंज महानगरपालिकाको २८ गुनासोहरू कुनै पनि फर्छ्यौट नभएको देखिन्छ । 


44 Views

Comments