काठमाडौँ महानगरपालिकाले गर्यो पानी पुनःभरण हुने प्रणाली निर्माण

६ माघ, २०८०,१५:३०

बालाजुमा वार्षिक तीन करोड लिटर पानी पुनःभरण हुने

काठमाडौँ, ६ माघ : काठमाडौँ महानगरपालिकाले बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब रु तीन करोड लिटर पानी पुनःभरण हुने प्रणाली निर्माण गरेको छ । सो प्रणाली बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । कामनपाले कोकाकोला वेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा उक्त प्रणाली विकास गरेको नगर उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार ‘रिचार्ज’ प्रणालीमा २१ रिचार्ज इनार, २१ रिचार्ज फिल्टरिङ च्याम्बर, दुई पानी थिग्रिने (डिसिल्टिङ चेम्बर), ७५ फिट अग्लो रिचार्ज खाडल र सात (९० फिटका) बाँसको छेकबार (चेक ड्याम) बनाइएको छ । यसको निर्माण कार्य गएको वैशाखमा निर्माण कार्य सुरु गरिएको थियो ।

उक्त प्रणालीको लागत रु ४३ लाख ६० हजार रहेको छ । “सहरमा पानीको अभाव छ, बर्खाको पानी बगेर खेर जान्छ, हिउँदमा पानीको अभाव हुन्छ, यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवद्र्धन गरिरहेका छौँ”, उपप्रमुख डङ्गोलले भन्नुभयो, “काठमाडौँमा सबैभन्दा धेरै पानीको अभाव हुने लगन क्षेत्रका खुला ठाउँबाट पानी पुनःभरण प्रणाली विकास गर्ने अबको हाम्रो योजना हो ।” तीव्र सहरीकरणका कारण बढेको पानीको चरम अभाव कम गराउन यसप्रकारका प्रयासले समुदायले दायित्व लिँदै जाने अपेक्षा गरिएको छ । परम्परागतरुपमा काठमाडौँवासीले पानीका प्रमुख स्रोतका रुपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए ।

पहिला पहिला राजकुलो र पोखरीबाट पानी पुनःभरण हुने गथ्र्यो । पछिल्लो समयमा अत्यधिक भूमिगत पानी दोहन हुन थालेको छ । अव्यवस्थित भवन निर्माण र सडकले गर्दा सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गएको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै बर्खामा आकाशबाट परेको पानीलाई जमिनमुनि पठाउन काठमाडौँ महानगरपालिकाले बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब रु तीन करोड लिटर पानी पुनःभरण हुने प्रणाली निर्माण गर्नु भूगोल पार्कको दृष्टिकोणबाट उद्दारणीय काम हो । यस्तो कार्य काठमाडौँको विभिन्न ठाउँमा हुनुपर्छ । साथै देशभरी नै अन्य नगरपालिकाहरूले पानी पुनःभरण हुने प्रणाली निर्माण गर्नु पर्ने टरकारो आवश्यक्ता देखिन्छ ।


531 Views

Comments