“विदेशको शौचालयको गुणस्तर भन्दा एरोसानको शौचालय २० औँ गुणा राम्रो” : चिरीबाबु महर्जन

७ जेष्ठ, २०८१,१८:४४

२७ वैशाख,काठमाडौँ । ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले वडा नं.-४ स्थित जावलाखेलमा अवस्थित एरोसान सस्टेनेवल स्यानिटेशन र वाटर एड नेपालको हातेमालोमा सञ्चालित महिलामैत्री, अपाङ्गतामैत्री, बालबालिकामैत्री, वातावरण मैत्री, अत्याधुनिक सार्वजनिक शौचालय सदर चिडीयाखानामा आज २०८१ बैशाख २७ गते (May 9, 2024) बिहीबार समुद्घाटन गर्नुभयो । काम विशेषले आएका आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधाका लागि स्नान गृह सहितको उक्त शौचालयको निर्माण सम्पन्न भएको हो ।

सन् २०२० देखि काठमाडौं र ललितपुर महानगरपालिका भित्रका विभिन्न स्थानहरूमा स्वच्छ, महिलामैत्री, अपाङ्गमैत्री, वातावरणमैत्री अत्याधुनिक र समुदायमा आधारित शौचालयको सुविधा दिदै आएको एरोसान सस्टेनेवल स्यानीटेशनले ललितपुर महानगरपालिका भित्र थप एक शौचालय निर्माण सम्पन्न गरेको हो । एरोसानले हालसम्म काठमाडौंमा ६ तथा ललितपुर महानगरपालिका भित्र ३ गरी जम्मा ९ वटा अत्याधुनिक शौचालय संचालनमा ल्याउन सफल भएको छ । मेयर महर्जनले विदेश भ्रमणको क्रममा त्यहाँको शौचालय अवलोकन गर्दा त्यहाँको शौचालय भन्दा पाटनढोकामा एरोसानले निर्माण तथा संचालन गरेको शौचालय सफा र व्यवस्थित रहेको महसुस गरेको बताउँदै विदेशको शौचालयको गुणस्तर भन्दा एरोसानको शौचालय २० औँ गुणा राम्रो भन्नुभयो । उहाँले “अब हामी उहाँहरूलाई अध्यन अवलोकनका लागि निमन्त्रण गर्नेछौँ ।” भन्नुभयो । 

कार्यक्रममा बोल्नुहुँदै उहाँले ललितपुर महानगर भित्र मंगलबजार र पाटनढोकामा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरी व्यवस्थितरुपमा सञ्चालन गर्न सफल हुनुमा स्व. प्रकाश अमात्यको भूमिका अतुलनीय रहेको स्मरण गर्नुभयो । उहाँले ललितपुर महानगर भित्र मंगलबजार र पाटनढोका पछि जावलाखेलमा उहाँको परिकल्पना बमोजिम निर्माण सम्पन्न भएकोमा खुशीसमेत व्यक्त गर्नुभयो । उहाँले “आज यस शौचालयको उद्घाटन गरी विधिवतरुपमा सञ्चालनमा ल्याउन पाउँदा खुसि लागेको छ । यस सार्वजनिक शौचालयको सञ्चालन पनि व्यवस्थितरुमा हुने आशा गरेको छु । अब चाँडै लगनखेलमा पनि स्मार्ट बसपार्क परियोजनासँगै यस्तै अत्याधुनिक सार्वजनिक शौचालय एरोसान सस्टेनेबल स्यानिटेशनको सहकार्यमा निर्माण गर्ने योजना बनाएको छु” भन्नुभयो ।



150 Views

Comments