तीनदिने दक्षिण एशियाली महिलाहरूको सम्मेलन भव्य रुपमा समपन्न

२ जेष्ठ, २०८१,१३:३४

२ जेठ,काठमाडौँ । ललितपुरमा चलेको तीनदिने दक्षिण एशियाली महिलाहरूको सम्मेलन २०८१ को नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङहितबहादुर तामाङको प्रमुख अतिथ्यमा हिजो भव्य रुपमा समपन्न भएको छ ।

सम्मेलनमा बैशाख ३० गतेको उदघाटन पछि दक्षिण एसियामा महिला सशक्तिकारणमा कुटनैतिक प्रयास, दिगो विकास लक्ष प्राप्तिमा महिला उद्यमशीलता, पर्वतीय महिला एवं जलवायु परिवर्तन, वित्त र बजारसम्म महिलाको पहुँच, महिलाको आर्थिक सशक्तिकरणमा नीति र पैरवी, ग्रामीण पर्यटन र महिला सशक्तिकरण, लैंगिक खाडल न्यूनीकरणमा डिजिटल समावेशिता, दक्षिण एसियाको क्षमता अभिवृद्धिमा दात्री निकायहरुको भूमिका, महिलाका साना तथा मझौला उद्योगका सफलता र चुनौतीका कथाहरु लगायत विभिन्न ९ वटा प्यानलमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, मालदिभ्सका प्राध्यापक, अनुसन्धानकर्ता, सरकरी अधिकारी, महिला उद्यमी, पर्यटन कर्मी, नीति निर्माता र चिकित्सक समेत गरि करिव ५० जनाले प्रस्तुति राखेका थिए । साथै नेपालमा रहेका बेलायती राजदुदुत, भारतीय राजदुतावासका अधिकारी र सार्क सचिवालयका अधिकारीको सहभागिताले सम्मेलनमा मित्र राष्ट्रहरूको नेपाल प्रतिको अनुभव समेत सुन्ने र बुझ्ने अवसर प्रदान गरेको थियो |

प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मेलनको समापन मन्तव्यमा महिलाको आर्थिक सशक्तिकरण र दिगो विकासमा योगदान पुर्याउने पहललाई सहयोग गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई जोड दिनुभयो । उहाँले दक्षिण एसियाभरि महिलाको अधिकार र अवसरलाई अगाडि बढाउने राज्य नीति,सहयोग र निरन्तर प्रयासको महत्त्वलाई दोहोर्‍याउनुका साथै तीन दिने दक्षिण एसियाली महिला सम्मेलन सफलता र एक अर्काबाट भएको सिकाईका लागि बधाई दिनुभयो ।

समापन सत्रको अतिथि मन्तव्यमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरलाले “हामीले महिलाका अवसरहरूलाई सीमित गर्ने परम्परागत लैङ्गिक भूमिकाहरूलाई पनि चुनौती दिन आवश्यक छ । दक्षिण एसियाली महिला सम्मेलन २०२४ हाम्रा लागि एकसाथ आउन र आफ्ना अनुभवहरू साझा गर्ने, एकअर्काबाट सिक्ने र यस क्षेत्रमा महिलाको आर्थिक सशक्तिकरणलाई अगाडि बढाउन रणनीतिहरू विकास गर्ने महत्त्वपूर्ण अवसर हो” भन्ने विचार राख्नुभयो  |

त्यसैगरी कार्यक्रमका अर्का अतिथि नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले पनि उपस्थितहरुलाई सम्बोधन गर्दै ग्रामीण पर्यटनमा दिगो विकास,डिजिटल रुपान्तरण र लैङ्गिक असमानता घटाएर महिलाको आर्थिक सशक्तिकरण बढाउनुपर्नेमा जोड दिनुभयो । दक्षिण एसियामा महिलाको आर्थिक सशक्तिकरण बढाउन पुँजी र बजारमा महिलाको सबल उपस्थिति, ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तिकरण, लैङ्गिक असमानता न्यूनीकरण र डिजिटल रुपान्तरणमार्फत महिला सशक्तीकरणको मार्ग तय गर्न, दक्षिण एसियाका महिलाका सामूहिक चुनौतिहरू, लैङ्गिक असमानताको मूल कारणहरू पहिचान गर्न र दक्षिण एसियाली अर्थतन्त्रको सन्दर्भमा व्यापार, उत्पादन, पर्यटन व्यवस्थापन र कृषिमा महिला सहभागिताको प्रवर्द्धनको महत्वलाई सम्मेलनमा उजागर गरिएको थियो | उक्त सम्मेलनमा आर्थिक सशक्तिकरण, प्रजातान्त्रिक रूपमा आर्थिक अधिकार र महिलाका लागि न्याय, औपचारिक र अनौपचारिक कार्यस्थलहरूमा लैङ्गिक खाडलहरू पूरा गरेर मात्र हासिल गर्न सकिन्छ भन्ने सम्मेलनमा सहभागीहरुको बुझाई थियो ।

नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रायल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ललितपुर महानगरनगरपालिका, विराटनगर महानगरपालिका, धुलिखेल नगरपालिका र नमोबुद्ध नगरपालिकाको सहकार्यले यी सरकारी निकायहरूलाई दातृ निकाय एवं विकास साझेदारहरूसँग एउटै थलोमा महिला सशक्तिकरणका बहु आयामिक पाटाहरूमा चर्चा सँगै आगामी योजनाहरूमा सहकार्यको प्रतिवद्धता जनाउने आवसर यो तीन दिने सम्मेलनले प्रदान गरेको थियो ।

सम्मेलनमा आवद्ध दात्री निकाय एवं विकास साझेदार Asia Foundation, UN Women, USAID, ICIMODE, Helvetas, Engage Nepal जस्ता संस्थाहरूसँगको साझेदारीले सम्मेलनको महत्त्व बढेको र महिला उद्यमीहरूलाई नेटवर्किङ गर्ने मञ्चका रूपमा अब दक्षिण एसियाली महिला उद्दमीको नेटवर्क निर्माण हुने समेत सम्मेलनले अपेक्षा गरेको छ । आयोजक संस्थाका अनुसार यस परिवर्तनकारी सम्मेलनले दक्षिण एशियाभरिका महिलाहरूले आर्थिक सशक्तिकरणका विषयमा झेलेका र भोगीरहेका अप्ठ्यारोको विषयवस्तुलाई लक्षित गरेको छ । जसमा वित्तिय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यवसायिक विकास रहेका छन् । साथसाथै लघु, साना र मध्यम स्तरका व्यवसायहरूलाई विशेष जोड दिदैँ ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तन जस्ता समसामयिक विषयहरूलाई समेट्न खोजेको छ ।

सम्मेलन अन्तर्निहित उद्देश्य दक्षिण एशियाभरिका महिलाहरूले आर्थिक सशक्तिकरणको क्रममा अझ विशेष गरी ग्रामीण पर्यटन र साना व्यवसाय अन्तर्गतका महिलाहरूको आर्थिक सशक्तिकरण, डिजिटल प्रविधिसँग सम्बन्धित सेवा सुविधाहरू, क्षमता विकास, आयश्रोतको बृद्धि, लैङ्गिक समानता र प्रतिस्पर्धात्मक सोचलाई प्रविधि र विश्व बजारसँग समन्वय गर्नको लागि एउटा अवसर प्रदान गर्नु हो । जसले दक्षिण एशियाली महिलाहरूलाई एउटै संजालमा राखेर उनीहरूको अनुभव आदान प्रदान गरी ग्रामीण महिलाहरूलाई रोजगारीको अवसर सिर्जना गराउने एउटा पुलको भूमिका निर्वाह गर्नेछ । यसमा विभिन्न महिला उद्यमीहरूका सफलताको कथाहरू जस्तैः ईन्टरनेट साथी, ग्रामिण पर्यटन र महिलाहरूमा परिवर्तन, दिगो अर्गानिक कृषि प्रविधिद्धारा ग्रामिण महिलाहरूको जीवनस्तर उकास्ने जस्ता विषयवस्तुहरूलाई समेटिनेछ ।

सम्मेलन कन्भेयर दक्षिण एशियाली महिलाहरूको संजाल नयाँ दिल्ली भारतबाट प्राध्यापक वीणा सिक्रीका अनुसार दक्षिण एसियाका कयौं अगुवा महिलाहरूको समेतको सहभागितामा सम्मेलनले यस क्षेत्रमा रहेका ग्रामीण महिलाहरूको प्रत्यक्ष सहभागितामा प्रविधियुक्त ग्रामीण पर्यटनको विकास र प्रवर्धन गर्दै महिला सशक्तिकरणको आयाम तय गरेको छ । यसले एकातिर सीप र आय आर्जनमा महिलाको नेतृत्व बढाउँछ भने अर्को तर्फ दिगो विकासको एउटा लक्ष हासिल गर्न समेत मदत पुर्याउने छ|

पहिलो पटक नेपालमा भएको यसप्रकारको सम्मेलनले दक्षिण एशियाली महिलाहरूद्वारा संचालित लघु, साना र मध्यम स्तरका व्यवसायहरुको प्रवर्धन गर्नुपर्ने, लैङ्गिक डिजिटल ग्यापलाई कमगर्न कामगर्नु पर्ने र महिलाहरूको आर्थिक सशक्तिकरणमा विशेष जोडदिनु पर्ने पुष्टि गरेको थियो ।

आयोजक संस्था हिमालपार वातावरण तथा जीविकोपार्जन कार्यक्रम नेपालको तर्फबाट  याङकिला शेर्पाको बुझाईमा दक्षिण एसियाका देशहरूमा कोभिड-१९ को महामारीका कारण उत्पन्न भएको आर्थिक क्षतिलाई सम्बोधन गर्ने हालको प्रयासमा यस सम्मेलनले टेवा पुर्याउने छ । सम्मेलनले समाजको समग्र समृद्धि र आर्थिक विकासका लागि सबै महत्त्वपूर्ण क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितालाई पुष्टि गर्दै, महिलामा आर्थिक सशक्तिकरणको आवश्यकतालाई थप उजागर गरेको छ | सम्मेलनले महिला समूहहरू, विशेष गरी साना र मझौला उद्यमहरूले सामना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्न थप मार्ग प्रसस्त गर्न र विशेष गरी प्रविधिको प्रयोगबाट हुने रूपान्तरणका मार्गहरू चित्रण समेत गरेको छ |

यस सम्मेलनमा दक्षिण एशियाका लघु, साना र मध्यम स्तरका महिला उद्यमी व्यवसायीहरू, सम्बन्धित देशका सरकारी प्रतिनिधिहरू, नागरिक समाज, बुद्धिजीवि वर्ग तथा अनुसन्धानकर्ताहरू, वित्तिय संस्थाहरू, प्रविधि प्रदायक संस्थाहरू, अन्तराष्ट्रिय संस्थाहरू, कर्पोरेट क्षेत्र, युवा तथा विद्यार्थी, विकास एजेन्सीहरू, संचारकर्मी र नागरिक समाजलाई साझा उद्देश्यमा जोडेको छ ।

सम्मेलन आफैंमा केही गुणात्मक र नीतिगत सवालहरूमा केन्द्रित रह्यो । खासगरी बजारमा महिलाको पहुँच, ग्रामीण क्षेत्रमा पर्यटन र डिजिटल समावेशीताको सवाल आदि । तर सम्मेलनमा सहभागीहरूको बलियो समर्थन अनि साझेदारहरू र प्रायोजकहरूको अटल प्रतिबद्धताबाट सम्मेलनले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको अन्तराष्ट्रिय विकास संस्थाका निर्देशक सुमन राज तिम्सिनाले दोहोर्याउनुभयो ।

सम्मेलनमा उठेको नेपाल सन्दर्भ : 

संविधानले दिएको अधिकारले महिलाको राजनैतिक प्रतिनिधित्व त भयो तर निजामती सेवादेखि लिएर सेवा क्षेत्रहरूमा महिलाको उपस्थिति निक्कै कम नै छ | महिला सशक्तिकरणका सरकारी प्रयास भएता पनि पर्याप्त छैन । लैंगिक उत्तरदायी बजेटका लक्षहरू अझै पर्याप्त हुनसकेका छैनन । स्थानीय सरकारहरूलाई संविधानले दिएको अधिकारहरूको पर्याप्त प्रयोग गर्न आवश्यक स्रोत, योजनावद्ध प्रयास र इच्छाशक्ति चाहिन्छन| दिगो विकास लक्ष्य प्राप्तिको साझा प्रयास जरुरी छ |राजनीतिक सहभागितामा भएको प्रगतिसँगै सरकारी क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने देखिन्छ । महिलाको आर्थिक अधिकार र सम्पत्ति अधिकारको सुनिश्चितता जरुरी छ |

महिला सशक्तिकरणका तीन स्तम्भहरू:

महिलाका लागि जोखिम उद्धार, सांस्कृतिक सीमाना र बाधा तोड्ने र आर्थिक विकासलाई बढावा दिनु अति जरुरी छ । विगत दुई दशकमा मातृ मृत्युदरमा भएको सुधारसँगै सरकारी मन्त्रालय र स्थानीय सरकारहरूमा लैङ्गिक-उत्तरदायी बजेटमा चुनौतीहरू सम्बोधन गर्न जरुरी छ । मानव तस्करी जस्ता समस्यालाई सम्बोधन गर्न विशेषगरी नेपालको तराई र समतल क्षेत्रको आर्थिक विकासमा सरकार केन्द्रित हुनुपर्नेमा समेत जोड दिएको देखिन्छ । SDG लक्ष्यहरू सरकारी पहलहरू र लैङ्गिक समानतालाई अगाडि बढाउन अन्तर्राष्ट्रिय सम्झौताहरूको महत्त्वमा पनि जोड दिनु पर्ने देखिन्छ । महिला र वर्गीय भेदभावलाई सम्बोधन गर्न सामूहिक पहल गर्न र ग्रामीण तथा हिमाली जनसङ्ख्यालाई सशक्तिकरण गर्ने रणनीति तय गर्न जरुरी छ । सीप निर्माण र क्षमता अभिवृद्धि कार्यक्रमहरू मार्फत महिलाहरूलाई सशक्तिकरण गर्न महिला मन्त्रालयको रणनीति समेतको सम्मेलनमा चर्चा भयो ।

गत बैशाख ३० देखि सम्माननीय उप-राष्ट्रपति रामसहाय प्रसाद यादवले होटल हिमालय, कुपण्डोल ललितपुरमा सो सम्मेलनको उदघाटन गर्नुभएको थियो भने उद्घाटन सत्रमा नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको विशेष आतिथ्य रहेको थियो । सो सम्मेलनमा करिब २०० जनाको सक्रिय सहभागिता र भिजिटर समेत गरी ४०० को उपस्थिति थियो ।

भुगोलपार्कले वस्तुनिष्ठ वैज्ञानिक सर्वेक्षण र रिपोर्टहरू सञ्चालन गर्ने र उत्पादन गर्ने प्रविधिको अत्याधुनिक क्षेत्रमा अवल रहेको छ । यी रिपोर्टहरू र परिणामहरूको विश्लेषणले धेरै सार्वजनिक र निजी संस्थाहरूलाई मद्दत गरेको छ । ती संस्थाहरूमा सरकारी निकायहरू, निजी क्षेत्रका व्यवसायहरू, गैरसरकारी संस्थाहरू, परियोजनाहरू, विद्यार्थीहरू र अन्य गरी अधिक समावेश छन् । आईटी क्षेत्रलगायत समसामयिक विषयमा ओपनीयन पोल, इन्फोग्राफिक, भिडियो,समाचार, भूगोलपार्क स्टुडियोमा समकालिन संवाद आदि गर्दै आएको छ । सो समारोहमा भूगोलपार्कको टिमले आफूले गरेको कामको जानकारी दिएको थियो । भूगोलपार्कले तीन दिनसम्म स्टलसमेत राखेको थियो । साथै त्यहाँ सहभागिता जनाउँनुभएको स्वदेशी तथा विदेशीलाई सम्मेलनको प्रतिक्रिया लिने काम पनि गरेका थियौँ ।



265 Views

Comments