उपनिर्वाचन : प्रचारप्रसार निषेध अवधिमा निर्वाचनमा प्रभाव पार्ने कार्यहरू नगर्न आयोगको तीन बुँदे ध्यानाकर्षण

२३ बैशाख, २०८१,१६:५१

१० वैशाख,काठमाडौँ । निर्वाचन आयोगले यहि वैशाख १५ गते हुने उपनिर्वाचनको मौन अवधि सुरु भएको भन्दै प्रचारप्रसार निषेध अवधिमा निर्वाचनमा प्रभाव पार्ने कार्यहरू नगर्न तीन बुँदे ध्यानाकर्षण गरेको छ । बैशाख १५ गते शनिवार सम्पन्न हुने इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा रिक्त प्रतिनिधि सभा सदस्य र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा रिक्त रहेको प्रदेश सभा सदस्य उपनिर्वाचन २०८१ का लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्था बमोजिम मतदान हुने दिन यही वैशाख १५ गते शनिवार भन्दा ४८ घण्टा अघि मिति २०८१ बैशाख १२ गते बुधबार राति १२:०० बजेदेखि प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । यस उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन प्रचारप्रसार निषेध अवधिमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्थाका अतिरिक्त देहायका कार्यहरू नगर्न/ नगराउन सम्बन्धित सबै सरोकारवालालाई आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले देहाय बमोजिम व्यवस्था गरिएको जानकारी दिएका छन् :

(१) निर्वाचनको सिलसिलामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले बाधा अवरोध गर्ने, थुनछेक गर्ने, डर, धाक, धम्की वा त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुरयाउने, सामाजिक वहिष्कार गर्ने वा सामाजिक वहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने कार्य नगर्न/नगराउन ।

(२) निर्वाचन अधिकृत, मतदान अधिकृत वा निर्वाचनको काममा संलग्न कर्मचारी, पदाधिकारी, अनुगमनकर्ता वा सुरक्षाकर्मी वा आयोगले खटाएको पर्यवेक्षक वा सञ्चारकर्मी वा कुनै संस्थाले निर्वाचनको कुनै काम गर्दा कानून बमोजिम कुनै उम्मेदवारलाई आफ्नो मत दिन बाहेक निर्वाचनमा कुनै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै किसिमको काम नगर्न/नगराउन ।

(३) उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे वापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना नगर्न/नगराउन र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी नहुन ।

उपरोक्त कार्यको विपरित हुने कुनै कार्य वा गतिविधि भए गरेमा वा हुने शंका लागेमा वा निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र मर्यादामा आँच आउने अवस्था देखिएमा सम्बन्धित सुरक्षा निकायले अनुगमन तथा निगरानी गरी त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई कानूनबमोजिम कारवाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोग निर्देश गर्दछ ।



64 Views

Comments