प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्न

Bhugolpark

१३ जेष्ठ, २०८२,१२:१३

काठमाडौँ, जेठ १३: प्रतिपक्षी दलहरूले आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरेका छन्। अध्यागमनका कर्मचारीको सेटिङमा मानिसलाई भिजिट भिसामा पठाउन सहजीकरण गरी रकम असुली गर्ने गरेको खुलेको थियो। यसमा गृहमन्त्री समेतको संलग्नता हुन सक्ने भन्दै प्रतिपक्षी दलहरूले उनको राजीनामा माग्ने तयारी गरेका छन्। प्रतिनिधि सभाको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइए पनि निर्धारित समयमा बैठक बस्न सकेको छैन। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरू गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्नेमा छन्। प्रतिनिधि सभा बैठक हुनुअघि उनीहरूले संसदीय दल बैठक गरी रणनीतिसमेत बनाएका छन्। स्रोतका अनुसार प्रतिपक्षी दलहरूले आजको प्रतिनिधि सभा बैठकमा कुरा राख्ने र सत्ता पक्षका सांसद तथा गृहमन्त्रीलाई बोल्न नदिने तयारी गरेका छन्। गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्ने पक्षमा उनीहरू छन् गृहमन्त्री लेखकले भने यसअघि नै मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्न समय माग गरेको बताएका थिए।


22 Views

Comments