स्टारशिप रकेट नियन्त्रण गुमाएर विघटन

Bhugolpark

१४ जेष्ठ, २०८२,१०:३४

एलन मस्कको स्पेसएक्सले २०२५ मे २७ मा गरेको स्टारशिप रकेटको नवौं परीक्षण उडान असफल भएको छ। टेक्सासस्थित स्टारबेसबाट प्रक्षेपण गरिएको यो मेगारकेट ३० मिनेटपछि नियन्त्रण गुमाएर भारतीय महासागरमा विघटन भएको थियो। स्पेसएक्सले यस घटनालाई "र्‍यापिड अनस्केड्युल्ड डिसअसेम्बली" (अप्रत्याशित विघटन) भनेर व्याख्या गरेको छ।

यो परीक्षणमा स्टारशिपले आठवटा डमी स्टारलिंक स्याटेलाइटहरू कक्षमा प्रक्षेपण गर्ने लक्ष्य राखिएको थियो। तर, पेलोड ढोका नखुल्दा स्याटेलाइटहरू प्रक्षेपण हुन सकेनन्। त्यसपछि इन्धन चुहावटका कारण रकेटले नियन्त्रण गुमाएर अनियन्त्रित रूपमा घुम्न थाल्यो र पुनःप्रवेशको क्रममा विघटन भयो।

यसअघि जनवरी र मार्चमा भएका दुई परीक्षणहरू पनि असफल भएका थिए। तर, नवौं परीक्षणमा स्टारशिपले अघिल्ला परीक्षणहरूभन्दा लामो दूरी तय गर्न सफल भएको थियो।

स्पेसएक्सले यस परीक्षणबाट प्राप्त डाटालाई भविष्यका उडानहरू सुधार गर्न प्रयोग गर्ने जनाएको छ। यद्यपि, लगातारको असफलताले मस्कको मंगल ग्रहमा मानव पठाउने योजना र नासाको आर्टेमिस कार्यक्रम अन्तर्गत चन्द्रमामा मानव अवतरणको लक्ष्यमा चुनौती थपिएको छ।

स्पेसएक्सले आगामी परीक्षणहरूमा सुधारका उपायहरू लागू गर्ने र पूर्ण पुनःप्रयोगयोग्य अन्तरिक्ष यान विकास गर्ने लक्ष्यमा प्रतिबद्धता जनाएको छ।


97 Views

Comments