३९ वर्षीय मिगुएल, विपक्षी पार्टी सेन्ट्रो डेमोक्रेटिको का नेता हुन्। उनी बोगोटाको एक सार्वजनिक पार्कमा जनतालाई सम्बोधन गरिरहेका बेला एक व्यक्तिले तीन राउन्ड गोली चलाएको बताइएको छ। बीबीसीका अनुसार, दुई गोली उनको टाउकोमा लागेको छ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार, घटनास्थलबाट १५ वर्षको एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको भिडियोमा मिगुएलले बोलिरहेको बेला अचानक गोली चल्दा त्यहाँ अफरातफरी भएको देखिन्छ। समाचार संस्था एएफपीले उद्धृत गरेको जानकारी अनुसार, मिगुएलको टाउकोमा दुई र घुँडामा एक गोली लागेको हो।
मिगुएलकी पत्नी मारिया क्लाउडियाले आम जनतालाई उनको स्वास्थ्यको लागि प्रार्थना गर्न अपील गरेकी छन्।
उनको पार्टीले यस आक्रमणको कडा भर्त्सना गर्दै यो घटना केवल एक व्यक्तिमाथिको हमला नभई समग्र लोकतन्त्र र स्वतन्त्रतामाथि नै खतरा भएको प्रतिक्रिया दिएको छ।
कोलम्बियाली सरकारले समेत घटनाको निन्दा गर्दै यसलाई लोकतान्त्रिक मूल्य र प्रक्रियाविरुद्धको आक्रमणको रूपमा व्याख्या गरेको छ।
त्यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यो घटनालाई लोकतन्त्रमाथिको सीधा हमला भनेका छन्।
Comments