काठमाडौं :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको भन्ने दावीलाई अस्वीकार गरेका छन्।
सीएनएन र न्युयोर्क टाइम्स लगायतका अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिकी आक्रमणपश्चात पनि इरानको आणविक पूर्वाधार बाँकी रहेको भन्दै समाचार प्रकाशित गरेपछि राष्ट्रपति ट्रम्पले ती समाचारहरूप्रति आक्रोश व्यक्त गरेका हुन्।
पेन्टागनको प्रारम्भिक गुप्तचर प्रतिवेदनका आधारमा सार्वजनिक भएका ती रिपोर्टहरूलाई ट्रम्पले ‘फेक न्युज’ (झुटा समाचार) भन्दै खारेज गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेख्दै भने, “सीएनएन र न्युयोर्क टाइम्स झुटा समाचार फैलाउँदै छन्। यी संस्थाहरू मिलेर इतिहासकै सबैभन्दा सफल सैन्य कारवाहीमध्ये एकलाई बदनाम गर्न खोजिरहेका छन्। इरानका आणविक लक्ष्यहरू पूर्ण रूपमा ध्वस्त भइसकेका छन् र जनताले ती सञ्चारमाध्यमहरूको आलोचना गरिरहेका छन्।”
यस विषयमा ह्वाइट हाउसले पनि प्रतिक्रिया दिँदै इरानको आणविक कार्यक्रम नष्ट नभएको भनाइलाई "पूर्ण रूपमा गलत" र राष्ट्रपति ट्रम्पको छवि गिराउने नियोजित प्रयासको रूपमा व्याख्या गरेको छ।
यता, मध्यपूर्वका लागि ट्रम्प प्रशासनका विशेष दूत स्टिभ विटकफले इरानमाथिको कारवाहीबारे लीक भएको गुप्त सूचना ‘देशद्रोह’ भएको आरोप लगाएका छन्। उनका अनुसार यस्तो कार्यले राष्ट्रिय सुरक्षामै खतरा पुर्याउनेछ।
Comments